Showing posts with label निबन्ध. Show all posts
Showing posts with label निबन्ध. Show all posts

बुर्का

Posted by eKabita | 1:04 AM | | 0 comments »

- योगेन्द्र उपाध्याय "पुष्प"

फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि हुनसक्छ उसले आफ्नो देशको सुरक्षाको लागि प्रत्येक मानिसलाइ उसको अनुहारबाट उसलाई चिन्न चाहेको हो तर जे सुकै भएपनि फ्रान्समा जुन बस्तु हटाउन खोजीएको थियो त्यो हट्न सकेन त्यो टाँसीएर बसेको बस्तु हो “बुर्का” ।

स्वतन्त्रता ! कहिले काँहि परतन्त्रता झैँ पनि लाग्ने गर्दछ या भनौँ कतिपय अवस्थामा परतन्त्रता, स्वतन्त्रताभन्दा प्रीय लाग्दछ । यस सन्दर्भमा फ्रान्सकै अर्को ऐतिहासिक घटना याद आउँछ, फ्रान्सको साम्राज्यवाद विरुद्ध एकपटक ठूलो युद्ध भयो र स्वतन्त्रताका पक्षधरहरु विजयी भए । स्वतन्त्रता सँग्राम एक पुस्ताको देनले सफल भएको थिएन त्यस युद्धमा कैयौँ पुस्ता होमीएका थिए । नयाँ पुस्ताले स्वतन्त्रता पाउँदा लाखौँ पुराना पुस्ताहरु यस्ता पनि थिए जुन कुनै दुर दराजको एक जेलमा २० वर्ष, ३० वर्ष, ४० वर्ष देखी सुर्यको किरणबाट पनि वञ्चित रहि, जञ्जिरमैँ जीवन विताइरहेका थिए । तिनलाइ पनि स्वतन्त्रताको स्वाद चखाउन स्वतन्त्र फ्रान्सेलीहरु जेलमा गए र कैदीका जञ्जिरहरु टुटाउन थाले तर आशा विपरीत कैदीहरु खुशी हुनको साटो रुन थाले, कराउन थाले, बाहिरको सप्तिरङ्गी संसार हेर्नलाइ अस्वीकार गर्न थाले, उनीहरुमा यो पनि डर व्याप्त भयो कतै बाहिर सुर्यको कीरणले उनीहरुलाइ जलाउने त होइन ? जञ्जीर तोडिँदा उनीहरुलाई यो पनि डर लाग्यो कि कतै जञ्जिरले जकडिएको उनीहरुको प्राण जञ्जिर खोलिँदा फुत्कने त होइन ? कारण उनीहरु कैयौँ वर्षदेखि उनीहरु नेलमैँ अभ्यस्त भैसकेका थिए, नेल र जेल देखि बाहेक उनीहरु अरु केहि सोँच्न पनि सक्दैनथे । उनीमा जीवन ब्लाक एण्ड ह्वाइट नै छ भन्ने भ्रम एकदम मजबुत भैसकेको थियो । उनीहरुलाइ नेल आफ्नो शरीर झैँ लाग्दथ्यो जुन तोडिदा उनीहरुलाइ असह्य भयो । उनीहरुलाइ जबर्जस्ती जेलबाट निकालेर सुर्यको कीरण देखाइयो र उनीहरु पनि स्वतन्त्र भएको त्यो दिन फ्रान्समा ठूलो उत्सव मनाइयो तर साँझ पर्दा नपर्दै सबै कैदीहरु एकाएक हराएको सुचना प्राप्त भयो र तिनलाइ खोज्न देशका सबै नाकरीकहरु सक्रिय भएर लागे तर कतै कहिँ भेटिएनन् उनीहरु, अन्त्यमा पत्ता लाग्यो उनीहरु त्यहि जेलमा पुगेका थिए जहाँबाट उनीहरुलाइ निकालीएको थियो, यसकारण मलाइ लाग्छ, कसैलाइ यदि परतन्त्रता जब स्वतन्त्रताको पर्यायवाची लाग्छ तब अरुले स्वतन्त्र हुने पाठ पढाउँदैमा कोहि स्वतन्त्र हुन सक्दैन ।

मानवमा मात्र होइन यो जनावरमा पनि देख्न सकिन्छ । यसै सन्दर्भमा म बुटवल बस्दाको एक घटना वर्णन गर्न चाहन्छु । म बुटवलको गोलपार्कमा बस्ने गर्दथेँ । बुटवलदेखी माथिको डाँडामा होटल बनाउनको लागि सामान ओसार्न म बस्ने कोठाभन्दा केहि पर मेरो साथीले खच्चरहरु राखेको थियो । एकपटक डाँडामा सामान पुर्याएर फर्कने क्रममा रात परेछ र दुर्भाग्यवस उसको खच्चर रातको समयमा कहिँ कतै हराएछ । भोलीपल्ट उसले हामीलाइ उसले खच्चर खोज्न डाँडामा जाउँ भनेर अनुरोध गर्यो र हामी सात जना साथीहरु मिलेर डाँडा चढ्यौ दिनभरी खोज्यौँ तर कतै कहिँ भेटाएनौ निराश भएर घर फक्र्यौं तर हाम्रो आशा विपरीत उनकी श्रीमतिले हामीलाइ सुनाइन खच्चर त हामीभन्दा पहिला नै घर फर्कीसकेको रहेछ । यदि कोहि स्वतन्त्रताको अवसर पाएर पनि परतन्त्र हुन चाहन्छ भने हजारौँ अवसर मिलुन उ त्यसको सदुपयोग गर्न सक्दैन । यस्तै प्रकारको घटना मरुभूमीमा पनि घट्ने गर्दछ । उँटलाइ मरुभूमीको मालवाहक सवारी साधन मानिन्छ कैयौँ दिनसम्म एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा मरुभूमी मै रात विताउने पनि वाध्यता आइपर्छ । त्यससमयमा उँटधनीले उँट बाँधिदिएकोे डोरी पर लगेर हथौडाले ठोके झैँ गर्छ र उँटलाइ यो भ्रम पर्छ कि म कुनै खुँटोमा बेसरी बाँधिएको छु । उ त्यत्तिकै बसी नै रहन्छ, केहि चलमल नगरीकनै । उ भाग्न पनि चाहन्न भाग्ने चेष्टा पनि गर्दैन । त्यसैले म भन्न चाहन्छु यदि कोहि स्वतन्त्र बन्ने प्रयास नै गर्दैन भने उ स्वतन्त्र बन्न पनि सक्दैन ।

नेपाल एक स्वतन्त्र देश हो । यो परापूर्वकाल देखी नै स्वतन्त्र थियो र आजसम्म पनि स्वतन्त्र नै छ । यहाँ मान्छे यति स्वतन्त्र छन् कि कसैलाइ मार्नु पनि मार्नेको स्वतन्त्रता अन्तर्गत पर्दछ, तर यति धेरै स्वतन्त्रताको वावजुद पनि के हामी स्वतन्त्र छौँ त ? राणाकाल र राजाकालमा बोल्न पाउनुलाइ स्वतन्त्रता मानिन्थ्यो आज जे मन लाग्यो त्यहि बोल्न पाउँछौ तर यती धेरै बोल्न पाउँदाको वाजजुद पनि हामी यस कुरामा विश्वस्त हुन सक्छौँ त हामी स्वतन्त्र छौँ ? स्वतन्त्रता एक वस्तुको बन्धनबाट अर्को वस्तुको बन्धनमा बाँधिनुको नाम होइन । हामी राणाबाट स्वतन्त्र भयौँ र राजाबाट स्वतन्त्र भयौँ तर दुइ रस्सीहरु तोडेका हामी हज्जारौ झण्डामा बाँधिन पुग्यौँ । हामीलाइ त्यस समयमा उम्कन सजिलो थियो जब हामी यो सोँच्दथ्यौँ हामी परतन्त्र छौँ जब मनमा यो निश्चय हुन्छ कि हामी परतन्त्र छौ तब स्वतन्त्रता पाउनु कुनै दुसाध्य कुरा होइन तर यसको विपरीत हामी परतन्त्रता नै स्वतन्त्रता हो भन्ने ठान्छौ लाखौँ वर्ष वितुन् हामी स्वतन्त्र हुन सक्दैनौ । हामी झण्डाको छाँया परीवर्तन गर्न सक्छौ, हामी पार्टि परीवर्तन गर्न स्वतन्त्र छौँ, तर परीवर्तन गर्नमात्र स्वतन्त्र छौँ यौटाबाट मन मरे अर्कोमा जान सक्छौँ तर फलामको जञ्जिरबाट आफुलाइ मुक्त गरेर सुनको जज्जिर लगाउनु स्वतन्त्रता होइन । मलाइ लाग्छ हामी त्यस समयमा मात्र स्वतन्त्र बन्न सक्छौँ जब हामी आफैले आफ्नो भाग्य निर्धारण गर्ने क्षमता आफूमा विकसीत गर्न सक्छौँ ।

नेतृत्वलाइ केहि दोष दिन्न म किनकि नेतृत्वमा पुर्याउने हामी नै हौँ । आज हाम्रो देशमा कसैले नेतृत्व पाउँछ भने पार्टीको भरमा पाउँछ, जब हामीले नेतृत्वमा पार्टिलाइ होइन व्यक्तिलाइ पुर्याउनु पर्छ भन्ने सोँच विकसीत गर्न सक्छौँ तत्क्षण देश देश बन्नेछ । पार्टि चयन गर्दा हामीलाइ १००० अप्सन प्राप्त होला तर व्यक्ति चुज गर्दा दुइ करोड अप्सन । पुँजीवाद र साम्रज्यवादले नक्सामा विकास गर्लान तर धर्तीमा विकास गर्न व्यक्ति नै चाहिन्छ । जब हामी आफु पनि नेतृत्वको एक अप्सन बन्न पुग्छौँ मलाइ लाग्छ देश त्यहि समय नै परिवर्तनको सँघारमा खडा हुनेछ ।

जातियता पनि हाम्रो एक समस्या हो तर जातियता मेटाउन तल्लो जातिलाइ निषेधित मन्दिरमा प्रवेश गर्नु या पानी पधेराहरुमा माथिल्ला जातिले भरेर राखेका गाग्राहरु छोइदिनु र उनीहरुलाइ त्यो छोइएको पानी पीउन दवाव दिनु पनि जनजातीको स्वतन्त्रता होइन । कसैले हजुरको हातवाट छोइएको वस्तु खाँदैन भने नखानदिनुस, जबर्जस्ती खुवाउन जरुरत छैन, हजुरकै सामानको वचत भयो धन्दा मान्न पर्दैन । हजुरले छोएको जल्ले खान्छ उसलाई खुवाउनुहोस् तर हजुरले छोेएको वस्तु अरुलाइ जबर्जस्ती खुवाउनुहुन्छ भने पहिला त उसले हजुलाई अछुत मान्दथ्यो अब हजुरले आफुलाइ नै अछुत सावित गर्दै हुनुहुन्छ । हजुर अरुको नजरमा अछुत हुनु त्यति घातक होइन जति हजुर आफ्नो नजरमा अछुत हुँदा घातक हुने गर्दछ । हजुर स्वतन्त्र हुन मन्दिरमा प्रवेश नगर्नुस् मन्दिर मै यदि भगवानको वास हुन्छ भने भगवान यस संसार मैँ छैन । यदि मन्दिरमा मात्र भगवान हुन्छ भने भगवान कै वहिस्कार गर्नुस् तर भगवान पाउनको लागि मन्दिरमा जबर्जस्ति प्रवेश नगर्नुस । यदि मन्दिरमा प्रवेश गरिहाल्नुभयो भने हजुरको मनमा यो भ्रम पैदा हुनेछ कि म स्वतन्त्र छु । हजुर अछुततामा बाँच्नुस तर भ्रममा नबाँच्नुस् । हजुर त्यस समयसम्म अछुत हो जबसम्म हजुर छुतहरुको बराबर बन्ने प्रयास गर्नुहुन्छ । मलाइ लाग्छ जब हजुरहरु लाइ कसैले छुन्छ या छुँदैन भन्ने भावना भन्दा पर जानुहुन्छ र आफु छुतहरु भन्दा सक्षम हुनुहुन्छ तब मात्र हजुरहरु स्वतन्त्र हुन सक्नुहुन्छ ।

नारी ! यौटा शक्ति भैकन पनि समाजको समस्याका रुपमा चित्रित हुन पुगेका छन् हजारौँ वर्षबाट दोश्रो दर्जाका नागरिक मानिएका नारीहरु अझै पनि दोश्रा नै छन् । नारीलाइ कानुनका पानामा स्वतन्त्रता दिनु र नारी स्वतन्त्र हुनु यो नितान्त भिन्न कुरा हो । नारी इभन कानुनका पानामा पुरुषभन्दा बढी अधिकार सम्पन्न किन नहोउन तर जबतक उनीहरु आफु समृद्ध हुँदैनन् तबसम्म उनीहरु स्वतन्त्र हुन सक्दैनन् । मेरी यौटी साथि छिन् स्मृति, उनी एजुकेटेड छिन् अहिले उनी मास्टर्स डिग्रीमा पढ्दै पनि छिन् । मैले विदेशमैँ रहँदा उनको विहे भएको कुरा थाहा पाएँ र उनीलाइ फोन गरेँ । मैले उनको श्रीमानको बारेमा सोध्न नपाउँदै उनीबाट जवाफ आयो म खुशी छु उहाँसँग, उहाँ सर हो, दुइवटा कलेजमा र यौटा माविमा पढाउनुहुन्छ, तिनवटा विषयमा डिग्री गर्नुभाको छ, म विश्वस्त छु उहाँले मेरो पुरा खयाल राख्नुहुन्छ । मैले यस्तै यस्तै तारीफहरु सुने दशसम्म र दश मिनेट पश्चात् फोन काटेँ र एस्सो सोँचे स्मृति आफ्नो भन्दा अरुको भरमा बाँच्न चाहन्छे, उसले यी सब कुरा गर्दा आफ्नो एजुकेशनल ग्रोथको बारेमा केहि भनिन, आफुले गरेका प्रगतिहरु केहि भनिन, विवाह भएको ६ महिना भैसकेको रहेछ उसको तर उसको आश्रितता छ महिनामै जीवनभरको हुने दिशामा लम्किसकेको थियो । मैले विचमा एकपटक सोधेको थिए स्मृति तिमी के गछ्र्यौ नि उसले सहज, सुखद र भरिपूर्ण झै गरी भनेकि थिइ म त घरमैँ बस्छु केहि काम छैन सिरीयल हेर्न देखि बाहेक । म अचम्म परेँ उ के भन्न खोज्दैछे मसँग ? पक्कै पनि उ यहि भन्न चाहन्थी मलाइ मेरो आश्रय मिलेको छ, मलाइ रुखको छाँया मिलेको छ तर खै त उ रुख बनेको ? रुख बन्नु परै जाओस् उसलाइ अँकुरण हुनु पनि जरुरी लागेन । उ धनी छे, तर उ अत्यन्त गरीब छे । दया लाग्छ मलाइ नारीहरुको त्यो पनि शिक्षिता नारीको यो अवस्था प्रति ।

समाजको सुरुवात हुँदा नारी र पुरुषमा केहि भिन्नता थिएन यो सबैले स्वीकार्नै पर्ने कुरा हो । यदि यो कुरा स्वीकारिन्छ भने यो पनि स्वीकार्न पर्छ कि नारी पछाडी पर्नुमा कमजोरी नारीको नै थियो । चाहे त्यो शारीरीक कमजोरी होस् या मानसिक, सहज रुपमा भन्ने हो भने पहिला नारीहरु शारीरीक रुपले कमजोर हुनाले पछाडी परे भने अहिले मानसिक । उनीहरु जबसम्म यो स्वीकार्दैनन् कि हामीहरु कमजोर छौ तबसम्म परिवर्तन सम्भव छैन । उनीहरुले आफ्नो कमजोरी पत्ता लगाउनै पर्छ अनि मात्र त्यो कमजोरीको निराकण गर्न सकिन्छ तर नारी ओभर कफिडेन्समा बाँचिरहेका छन् । ओभर कन्फिडेन्सका शिकार भएका नारीहरु अझै र नजाने अझै कति वर्ष पराश्रित भएर रहनुपर्ने छ । म आफ्नो बैदेशिक अनुभवको आधारमा भन्दैछु भले हि पश्चिमी मुलुकमा नारी र पुरुष यौनको मामलामा समान होउन् तर सामाजिक रुपमा महिला हाम्रो देशमा झैँ नै छन् । नारीप्रति हेरीने दृष्टिकोण कहिँ कतै रत्तिभर पनि भिन्नता छैन । प्रत्येक पुरुषहरु इभन मेरो क्लास मेट पनि हमेशा भन्दथ्यो एभ्री लेडीज आर क्रेजी इभन माइ मम । सो म विन्ती गर्न चाहन्छु नारीहरुलाइ प्लिज आफु कमजोर छु भन्नुहोस् र आफ्नो कमजोरी पत्ता लगाउनुहोस् नत्र स्वतन्त्रता कापीका पानामा मात्र हुनेछ हजुरहरुको ।

बुर्का यौटा प्रतीक मात्र हो, यस्ता लाखौँ बुर्काहरु हामी सबैले पहिरेका छौँ र फालेका पनि छौँ । कहिँ बुर्का बाध्यात्मक हुन्छ कहि जानी जानी बुर्का पहिरिन्छ । जहाँ बुर्का बाध्यात्मक हुन्छ त्यहाँ बुर्का फाल्नुलाइ स्वतन्त्रता मानिन्छ, जहाँ बुर्का स्वीकारत्मक हुन्छ त्यहाँ बुर्का पहिर्न पाउनु स्वतन्त्रता हुन्छ तर यथार्थमा बुर्का पहिर्नु पनि स्वतन्त्रता होइन र नपहिर्नु पनि स्वतन्त्रता होइन तबसम्म जबसम्म हामी बुर्का पहिर्नु र नपहिर्नुमा भिन्नता पत्ता लगाउन सक्दैनौ ।
Read more >>

नारी

Posted by eKabita | 2:59 AM | | 0 comments »

- योगेन्द्र उपाध्याय “पुष्प”

नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर म पनि चिच्याउँ भने उनी र म मा फरक नै के रह्यो र ? त्यसैले कापीको मञ्चमा डटपेनको माइक बनाउनु नै मैले उचित ठाने, उनको प्रतिश्पर्धी बनेर ।

उनका भनेका बोलीहरु र मेरा स्पष्टिकरण,

महिला आफैमा पूर्ण छे ।
भन्दैमा हुने भए पूर्ण मात्र किन सम्पूर्ण भन्नुस् न । तर साँचो त यो हो महिला पुरुष मा अडिएकि हुन्छे जसलाई स्पष्ट पार्न महिलाका नामलाई नै आधार बनाऔँ । नारायण ई = नारायणी, राम आ = रमा, रमित आ = रमिता, जनक इ = जानकी, पर्वत ई = पार्वति, लोचन आ = लोचना, दु्रपद इ = द्रौपदि, बालक इका = बालिका, कुञ्जन आ = कुञ्जना, देव इ = देवी, अरुण इमा = अरुणिमा भरत इ = भारती, आदि अब ब्याकरणको नियम अनुसार मुलशब्दमा उपसर्ग वा प्रत्यय लागेपछि नयाँ शब्द बन्छ र मूल शब्द बिना उपसर्ग वा प्रत्ययको कुनै अर्थ रहन्न अब के पुरुषमा कुनै अर्थहिन वस्तु जोडिनु नारीको उत्पत्ति हुनु हो । विशाल केटाको नाम हुन्छ भने सिमा केटीको । राजाकी श्रीमति रानी, कविकी सिर्जना कविता अब भन्नुहोला कवयित्री कि सिर्जना पनि त हुनसक्छ तर याद गर्नुस् कवयित्री शब्दको अर्थ बुझेपश्चात् प्रथम पटक यो शब्द हजुर प्रयोग गर्दै हुनुहुन्छ, नत्र महिला कविको लागि पनि कवि शब्दको नै प्रयोग हुन्छ यसको मतलव महिला कवि पनि आफ्नो लागि बनाइएको शब्द प्रयोग गर्न अनिच्छुक छन् ।

अनि अरु पनि सुन्नुस् हुन त नारीलाई सौन्दर्यको प्रतिक मानिन्छ तर सुन्दर ऋतु बसन्त पुरुषको नाम हुन्छ र रोइरहने वर्षा नारीको, अनि चिच्याउनुहोला सबै मौसम समेट्ने ऋतु त नारी नाम हो ल अब भन्नुस् ऋतुको राजा को ? हुन त सरस्वति विद्याकि देवी हुन् तर उनी वेद विना अपूर्ण छिन्, वेद सम्पूर्ण ज्ञान राशिको पुस्तक हो र वेद भित्र अल्पज्ञान समेट्ने ऋचा नारी नाम हो । मुड्की पारेर चिच्याउनु होला ऋचा विना वेद रहन्न त्यसो भए ऋचा विना ऋचा पनि त रहन्न नि हैन र ? अब पुरुष नाम र महिला नाममा फरक पायल नारी नाम हुन्छ भने शिरध्वज केटाको नाम । बलवान् केटाको नाम हुन्छ भने अबला नारी नाम । फेरी केटीकै नाम भएपनि साहसी नाम पुरुषले पनि लिएको हुन्छ जस्तै दुर्गा, देवी, गँगा । केटीको नाम काजल हुन्छ आशुले बगाइदिन सक्छ । सङ्घर्ष पुरुष नाम हुन्छ र कल्पना, सम्झना नारी नाम । अब भन्नुहोला रातिमा चम्कने चाँदनी महिला नाम हो, सूर्यको प्रकाशले चम्कन्छे उ, अब फेरी भन्न सक्नुहुन्छ सूर्य एक प्रकारको तारा हो यहि भन्नुहुन्छ होला भनेर नै पुरुष हरुले आफ्नो नाम पनि तारा राखेका छन् । सागर केटा नाम हुन्छ भने शरीता केटी नाम । पुरुषले पुरुषार्थ गरे झै नारीले नार्यार्थ गर्न सक्दैनन् । अब यो नभन्नु कि पुरुषार्थ नारीले गरेको कामलाई पनि सराहना गर्न प्रयोग गरिने शब्द हो, शब्द उधारो किन लिनुहुन्छ, नयाँ शब्द बनाउनुस् न । फेरी मलाई त्यस समयमा हाँसो उठ्छ जब काठमाण्डौमा खुलेका श्रीमति समाजका ब्यानरहरु देख्छु । नारी शान्तिको प्रतीक गरे, बकवास, विश्वको प्रथम युद्ध मधु कैटव र विष्णुको युद्ध लक्ष्मीको कारणले भएको थियो त्यहि बेला देखि नै मानव जातिमा युद्धको विजारोपण भएको थियो जुन आजसम्म पनि निरन्तर छँदैछ । शान्ति नाम राख्दैमा शान्ति हुने भए बुद्ध नाम रहेको नेपाल अशान्त हुने थिएन । यस्ता उदाहरण हजारौँ केटिको खिलाफमा भेटिन्छन् तर केटाको खिलाफमा पाउनुहुन्न । अब भन्नुहोला पुरुष प्रधान समाजले दिएको नाम हो यो, त अब नयाँ नाम उत्पत्ति गर्न थाल्नुस् पहिला दासता विरोधि नाम । तपाँइ यो पनि भन्न सक्नुहुन्छ नामले के हुन्छ र ? नाम राख्नुको पछाडि एउटा साइकोलोजिकल कारण छ नाम यसकारण राखिन्छ कि यो व्यक्ति अरु केहि गर्न नसकेतापनि आफ्नो नाम सार्थक गरोस् सूर्य सूर्य झै चम्कोस, पायल सधैँ अरुको खुट्टामा रहोस् । फेरी अब हेरौँ सक्सेस महिलाको पछाडि पनि हेरौँ न पूर्ण रुपमा पुरुष जोडिएको हुन्छ म्याडम क्युरीलाई उनको श्रीमान्ले सहयोग गरेका हुन्, राजेन्द्र लक्ष्मी शाहलाई बहादुर शाहले । नोबेल पुरस्कार प्राप्त गर्ने अर्कि महिला वैज्ञानिक उनको दाईले दिएको दूरबिनको साहाराले अरुण र वरुण ग्रह पत्ता लगाएकि थिइन । तर अल्बर्ट आइन्सटाइनलाई महिलाको सहयोग आंशिक थियो पूर्ण थिएन । विश्वविजयी हिटलरको सेना पुरुष थियो महिला थिएन र विश्वविजयी एलिजावेथको सेना महिला थिएन पुरुष थियो । एकाध झाँसीकी रानीमा भने पुरुष सरह शक्ति थिया । भगवानको अगाडि भगवान्नीको राधाकृष्ण, लक्ष्मीनारायण देख्दा खुशीले उफ्रनुहुन्छ होला नकुद्नुस् किनकि त्यसको पछडि कारण महिलालाई मान्यता दिएर होइन कारण अर्कै छ व्याकरणिक र औच्चारणिक विज्ञानको नियम अनुसार मानिसले सजिलो शब्दहरु उच्चारण गर्न र बनाउन चाहन्छ त्यसैले दुबै जनाको नाम उच्चारण गर्दा जसरी सजिलो लाग्यो त्यसरी नै गरियो, अनि भजनमा पनि साँगितिकता लयबद्धताको कारण पनि हो किनकि जुन लय सिताराम भन्दा निस्कन्छ त्यो रामसिता भन्दा निस्कन्न, लक्ष्मीनारायण नारायणलक्ष्मी भन्दा मीठो शब्द हो । यदि वास्तवमै नारीलाई महत्व दिन यस्ता शब्द बनाइएका भए पार्वतिशिव हुनुपथ्र्यो, श्रीमतिश्रीमान् भनिन पथ्र्यो, मिसेज एण्ड मिस्टर भनिन्थ्यो । यति भने पश्चात् त महिला आफैमा पूर्ण छे भन्नुभन्दा पहिला एकपटक ऐना त हेर्नुन्छहोला है ।

नारी सृष्टिको मूहान हो ।
ल मैले माने नारी सृष्टिको मूहान हो । उसले बच्चा जन्माउने काम गर्छे तर पुरुष बिना कुनै महिलाले सृष्टि गर्न सक्दिने फेरी बच्चा जन्माउदैमा महान हुने भए गँगटोले १००० वटा बच्चा जन्माउन सक्छे के अब हामीले महिलाको तुलना गँगटोसँग गर्न पर्यो त ? र अर्को कुरा सुन्नुस् सृष्टिको सुरुवात महिलाबाट होइन पुरुषबाट भएको हो धर्मग्रन्थका धमिरा लागेका पाना पल्टाउनुस सृष्टिकर्ता ब्रम्हा हुन् सरस्वति होइन । अब फेरी यो पनि भन्न सक्नुहुन्छ हामी धर्मका कुरा मान्दैनौ साइन्सका कुरा गर्नुस् एक्काइसौँ शताब्दिमा, विज्ञानकै भाषामा शुरुमा जीवको उत्पत्ति हुँदा एमिनो एसिड बनेको थियो जसलाई हामी अहिले सजिलो भाषामा प्रोटिन भनिन्छ जसमा सूर्यबाट निस्केका चार्जले कुनै प्रतिक्रीया गरेपश्चात् अमिबा बनेको थियो र अमिबा नै पहिलो जीव थीयो त्यहि जीवको उत्पत्तिलाई नै आधार मानौँ । यहाँ चार्जको कुरा आएको ले हामीले पहिला यो छुट्ट्याउनुपर्यो धन चार्ज को, र ऋण चार्ज को ? महिला या पुरुष । धन चार्ज बढि सक्रिय हुन्छ र ऋण चार्ज सक्रिय हुँदैन र वैज्ञानिकलाई सोध्नुस् पुरुष धन चार्ज हो भने महिला ऋण चार्ज हो अब सृष्टिको शुरुवातमा धेरै सक्रियता धन चार्जको रहेकाले पुरुष नै बढि सक्रिय रहेछ । अनि अर्को कुरा सामान्य वर्तमान समाजमा पनि हेर्न सक्नुहुन्छ पुरुषको पछाडि महिला भन्दा महिलाको पछाडी पुरुष दौडिरहेको हुन्छ, यसबाट पनि सरलै बुझ्न सकिन्छ सृष्टिमा बढि भूमिका कसको थियो । अब तपाई भन्नुहोला हामी बच्चा नै जन्माउन्नौ र हेरौँ त कसरी सृष्टि अगाडि बढ्छ, त्यहि भन्नुहुन्छ भनेर नै पूरुष वैज्ञानिकले क्लोनिङ्ग र टेष्टट्यूब बेबी प्रविधिको विकास गरिसकेका छन् ।

अवसर पाए महिलाले पनि पुरुषले सरह केहि गरेर देखाउन सक्छे ।

देखाउनु अर्काको लागि हुन्छ, पुरुषले देखाउँदैन तर महिलाले देखाउँछे यसको मतलब के आश्चर्य गर्छे । र अर्को पुरुष सरह र पनि भन्ने शब्दको प्रयोगले नै महिलाको काबिलियत माथि महिलाले नै शंका प्रकट गरिरहेका छन् । अनि फेरी अवसर पाए त लाइका पनि चन्द्रमामा पुगी । अवसर पाएकैले ब्वाँसोलाई पनि कुन देशको राजा बनाइएको थियो रे । अब यो नभन्नुहोला लाइका चन्द्रमामा पहिलोपटक पाइला टेक्ने धर्तिकी प्राणि पोथी हो । अवसर पाउनु र हासील गर्नुमा निकै भिन्नता हुन्छ । अवसर पाउनु भिख हो के भिक्षामा पाएको सर्टिफिकेट ले आफ्नो काबिलियत साबित गनुहुन्छ तपाँई ? यदि अवसर पाए ।। भन्ने विचारले नै महिलालाई अवसरहिन बनाएको छ । त्यो अवसरको आश पनिको सँग पुरुषसँग नै त हो नि महिलामा त्यति काबिलियत र समाजसँग लड्ने क्षमता छ भने महिलाले उद्योग खोलुन् र महिलालाई नै वर्कर राखुन् पुरुष भन्दा बढि यदि पुरुषको उद्योगमा महिलालाई यस्तो भैरहेको छ भने । टाटाले एउटा चाँदीको लोटाबाट व्यापार शुरु गरेका थिए, बिडलाको कथा पनि त्यस्तै छ, बिल गेट्स पहिला अरुको कम्पनिमा वर्कर थिए तिनलाई कसले अवसर दियो नारी सक्षम छौ भने अरुले दिएको अवसरमा होइन आफूले निर्माण गरेको अवसरमा बाँच्न सिक । यहि अवसरको ज्यादा पुकाराले नै अवसरहिन बन्न पुग्यौ र पेटमा अन्न नभएपछि वेश्या बन्न समेत बाध्य पार्छ महिलालाई समयले । पुरुष भन्दा बढि महिला नै वेश्याको रुपमा कार्यरत छन् । एकदिन जब पुरुषको सँख्या बढि हुनेछ महिला वेश्या भन्दा तब म ठान्नेछु महिला पनि केहि गर्न सक्छन् । महिलाले कुनै पुरुषले अक्सर गर्ने प्रोफेसनल काम गरे पत्रिकाको फ्रन्ट पेजमा नाम निस्कन्छ । यसको मतलब के उनले महिलाले गर्नै नसक्ने काम गरेर देखाइन् ? नत्र प्रशंशा किन ? स्वभाविक कुराको प्रशँसा हुँदैन त्यसैले पुरुष प्रशंशित नभएपनि खुशि छ । एउटै लाइनमा पुरुष र महिलासँगै उभिदा लेडिज फस्टको सट्टा जब जेन्स फस्ट भनेर महिलाले भन्नेछिन् तब म स्वीकार्छु महिला पनि केहि गरेर देखाउन सक्छे ।

सुझाव मेरो तर्फबाट
पहिला यो भर्खर चलिरहेको भाषण बन्द गर्नुस् । भाषणले प्रगति हुनेभए नेपाल अमेरिका हुने थियो र अमेरिका नेपाल । ल भन्नुस् तपाँइकि छोरी बी.ए. पास छे भने उसको लागि वर चयन गर्दा कस्तो प्रकारको गर्नुहुन्छ ? हजुरको सरल विचार एम.ए. गरेको र नोकरी खाने हुन्छ । बस् यो बिचार परिवर्तन गर्नुस्, यो प्रथा परिवर्तन गर्नुस् । र परिवर्तन गरेपश्चात् हामीले गर्यौँ भनेर नभन्नुस् । यदि पुरुष भन्दा महिला अगाडि बढ्न चाहन्छौ भने पुरुषलाई सिरीयलका कुरा गर्न बाध्य पार्नुस् । नारीले लगाउनै पर्ने बुर्का पुरुषलाई पनि लगाउने वातावरण मिलाउनुस् । नारी पुरुष एकै रथका दुइ चक्का हुन् भन्दैमा दुबै चक्का समान ठाँउबाट हिड्यो भने के हुन्छ ? त्यसकारण पुरुष सरह हैन पुरुष भन्दा अलग गरेर देखाउनुस् । सक्नुहुन्छ तसलिमा नसरीन बन्नुहोस् नसके चुप लाग्नुहोस् यसरी पुरुषको खिलाफमा बोल्दा साँझ तपाँइका श्रीमान्ले तपाइको अगाडिबाट भातको थाल हटाइदिए भने के हुन्छ ?

अन्त्यमा मैले ओकलेको विषप्रति नारी वर्गसँग हात जोडेर घुँडा टेकी माफ माग्छु । विश्वास गर्नुस यो हजुरहरुलाई हेप्न हैन सचेत गर्न लेखेको लेख हो ।
Read more >>

- बसन्तकुमार बस्नेत



इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन
मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेको छैन
कुरा काट्नेहरु यहाँमात्रै कहाँ छन् र होलान् त्यहाँ पनि
अक्षरको बात लाग्ला भनेर तिमीलाई दुई हरफ पत्र पनि लेखेको छैन ।

नयाँघरे दाजु,
त्यसो त मै पनि कहाँ चारखोलमा छु र । तिमीले माइक्रोड्राइभरको स्टेयरिङ् र ब्रेकसँग तोकिमागेको अठारहजार जाबोको सडक म पनि नाप्दैछु । समयको जेब्राक्रसिङमा उभिएर जिन्दगीको एउटा खड्गो फत्ते गर्न तिमीले हिजोआजहुँदो बस्ने गरेको सहर भोग्दैछु । परदेशिएको मेरो दाजु, तिमीलाई रमेश पौडेलकृत मुक्तकको घुँयेत्रो हिर्काएर यो पत्र आँट्दैछु । तिमीसँगै भएर पनि तिम्रो हुननसकेको यो काठमाण्डौं सहरमा म आज अलिअलि इलाम भएर लेख्दैछु ।

नाम्सालिङ्को मान्चोकबाट सातुसामल गुमुक्र्याएर घर छाडेको दिन तिमीलाई उबेला कस्तो भयो हँ ? मदन पुरस्कार थाप्न जाँदा होस् वा धर्तीको स्वर्ग भनिने अमेरिका जाँदा, तिमी युवराज नयाँघरे भइसक्याथ्यौ । तिम्रो सुवेदीलाई उहीं इलाम झापातिरै छोड्यौ हगि दाजु !

दशकपछि म नमिलेको समीकरण मिलाउन खोज्दैछु तिमीप्रतिको मेरो गणितको । परदेशिन लाग्दा दैलाको सँघारबाट झोला टिपेर कालो रुन्चे अनुहार लाएको युवराज सुवेदी भर्सेज एक हातको ताली बजाएर मदन पुरस्कारको लिगलिगे दौड उछिनेको युवराज नयाँघरेको बीचमा ।

बीचमा छायाँजस्तो देखिने एउटा धर्सो देख्दैछु । यो धर्सो हो कि छायाँ मात्रै ? लाखेस् आज । कहाँ यसै छाड्छु र तिमीलाई ।

घरबाट हिंडेर झापा झ¥यौ । त्यहाँबाट गुडेर काठमान्डौं हानियौ । त्यहाँबाट उडेर अमेरिका । लोक घुमेर आउँदा मदन पुरस्कारको किस्ती तिम्रै हातमा । दाजु, भाग्यमानी रहेछौ । तिमीलाई यो लच्छिनको आशिक कल्ले दियो ? इलामले कि वासिङ्टन डिसीले ? तिमीलाई भेट्नुपूर्व मलाई सँधै यस्तैयस्तै लागिरह्यो ।


त्यो इलाम । तिम्रोहाम्रो जरो । त्यो चारखोल । जहाँको पानी खाएर गाईवस्तु चराउन जाँदा खोलाको चिसो पानीमा पौडेर, इस्कूलका दिनहरुमा खोलोमा बाँकटे हान्न धुले पाठशाला ‘बङ्क गरेर’ कति गयौ होला । भोटो र कट्टु लाउने तिम्रा दिनहरु । दुधिलोको रुखमा चढेर हेर्दा त्यो इलाम, चुरेघाटी, सन्दकपुर, फिक्कल, गोर्खेबजार, सिद्धिथुम्का . . . सायद तिम्रा लागि सपनाको स्वर्ग वा विपनाको आकांक्षा भन्नु यत्ति संसार थियो । सन्दकपुरमा खसेका हिउँ, तिम्रा स्वप्नील सिरकहरु । गुटुमुटु परेथ्यौ कलिलो मनले टाढाबाटै स्पर्श गरेर तिम्रो हिमाललाई ।

मोही पारिसकेर धूप हाल्नेबेला तिम्रा बाले नाङ्गो हातले आगो छुँदा पनि हात नपोलेको देखेर तिमी अचम्ममा पथ्र्यौ । तिम्रा लागि संसारको सम्पूर्ण सात आश्चर्य भन्नु घिउसरीको हातले छुँदा पनि नपोल्ने आगो थियो ।

ओलन तताउँदा निक्लेको कुराउनी खान उबेला तिमी जति हौसिन्थ्यौ दाजु । न्युयोर्कको फाइभस्टार होटलमा इटालियन फुड खाँदा तिमी त्यत्ति नै पलुकित भयौ ? धरोधमै नलुकाइ भन न ।

पर्मेजुङ्मा भकुण्डो खेल्न गएको बेला बारीका कान्ला उफ्रेर हिंड्दा तिमीलाई पासाङ्दाजुले धारेहात लाएर सरापेथ्यो । तिमी अटेरी भएरै कुदेथ्यौ । आफ्नो छोरोलार्ई काठमाण्डौंमा एउटा बिनाकसुरको बन्दी बनाएर राख्याछौ तिमीले । घरको गेटबाट ऊ बाहिर निक्लियो भने बुझे हुन्छ ऊ स्कूलको गेटभित्र छ । स्कुल घर, घर स्कुल । ऊ सिमेन्टको पर्खालभित्र बन्दी छ । मानौ,ं ऊबाट यो उत्तरआधुनिक सिटीकल्चरमा जन्मिनु अक्षम्य अपराध भएको छ ।

हिजो पासाङ्दाजुको कान्लामा उन्मुक्त उफ्रिने तिमी आज कलंकीको कारागारजस्तो घरमा कोचिएर स्वतन्त्रताको निबन्ध लेख्छौ र मदन पुरस्कार थाप्छौ । तिम्रो दुईलाखे पुरस्कारका अक्षरभन्दा चारखोलका तिम्रा नलेखिएका र लेखिन बाँकी साहित्य कति होलान, जसलाई बक्सिस दिन गोडा दुएकलाखे पुरस्कारको योग्यता पुग्दैन । लेखिराख दाजु बडसँगले निबन्धका ठेली । मखुण्डाको मनले हानिराख काठमाण्डौंलाई कोर्रा । निलडाम बस्नेगरी चुट । सुकाइदेऊ संवेदनाका स्वरहरुलाई ।

लेखेऊ तिमीले खुब ।

उता लेख्नुपर्ने सिंगै इलाम बाँकी छ । त्यसको फगत तीनपेज ह्याङ्ओभर लेखेर तिमीलाई पुग्छ ? रमेश पौडेलले लेखेको भनेको माथिको मुक्तक त कैलेकाहीं तिमीले नै पो लेख्या हो कि जस्तो शंका हालेको छु यो चित्तमा ।

दाजु, बिबिसी रेडियोले तिमीलाई धुइँधुइँती खोजेका दिन तिमी सारो ‘बिजी’ थियौ । नेपालीसेवालाई नेपाल टेलिकमले नेपालीमै दिनभर जवाफ दियो, तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ केहीबेरपछि...। पृथ्वीलोकको सबैभन्दा ठूलो रेडियोले तिम्रो टाइम नपाएका दिन मलाई लाग्यो, तिमी त सबैका भएछौ । संसारका भएछौ तिमी ।

तिमीले त्यही पुरस्कार झारेको दिन थियो त्यो । खुब रमाएथ्यौ होला तिमी त हगि । तर याद राखेस् मुला दाजु, तिमी त कसैका पनि भएनछौ ।

काठमाण्डौंमा तिमीलाई झापाको भन्दार’छन् । झापामा इलामको । इलाममा तिम्रो नाम सबैलाई थाहा छ । तर तिमी बर्नेको उकालो हँदै गाउँ लाग,कसैले चिन्दैनन् ।

सारा संसारको आफ्नो तिमी । कठै मेरा दाजु,। तिमी त आफ्नै अाँगनको भएनछौ ।

२०६७ भदौ २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानको आँगनमा तिमीलाई भेट्नुअघि मलाई यस्तै लागिरह्यो । तिमीले टाढैबाट इलामलाइ माया गरेको देख्दा माथिको मुक्तक याद आइरह्यो । आफ््नो अभिभावक, प्रेमिका, तिम्रो सर्वस्व भन्नु त्यो माइखोलोमाथिको भूगोललाई नछोएरै तिमीले आत्मिक माया गरेको देख्दा लाग्यो । यो चोखो माया हो । तर सा¥है सा¥है सा¥है अपुरो माया । अधुरो माया ।
दुई

तर होइन रहेछ दाजु,
फुङ्सेन पत्रिकाको दोस्रो अंकको लागि बसिबियाँलो गर्दा तिमी मलाई सा¥है प्यारो, उत्तिकै आत्मीय उत्तिकै न्यानो लागिरह्यौ । यतिका हिउँदहरुमा काठमाण्डौंको काष्टी काट्दा पनि तिमीलाई यसले चिस्याउन सकेको रहेनछ । तिमीलाई त बरु हिउँको कार्पेटमा आँसुको फूलले अझै पनि अन्तरमा स्पर्श गर्दोरहेछ । कस्तो हौ दाजु तिमी त । तिम्रै घरगाउँमास्तिरको विष्णु निष्ठूरीको उपनाम काटेर झण्डै मैले तिम्रो नामपछि झुण्ड्याइदिइसकेको– युवराज निष्ठूरी ।

तिमी बोल्दैगयौ । मैले मोबाइल झिकेर आवाज रेकर्ड गरें । तिमी अलिकति टोड्के झरनाको आँसु रोयौ । अलिकति माइखोला भएर बग्यौ । पर्मेजुङको उकालोमा स्मृतिका पाइलाहरु हिँड्यौ । एकैछिन नयाँबजार लामागाउँको सियाँलमा खुइ्यय काढ्यौ मनले । गोदक हुँदै झापा झरेको सम्झेर तिमी अतीत भक्कानियौ । चुरेघाँटीबाट ओलनको ढुङ्ग्रो र अम्लिसाको म¥याङ म¥याङ म¥याङमा हृदयको सरगम भएर बज्यौ । दिमाग त अरुको जस्तै लाग्छ दाजु तिम्रो । तिमीले त तस्वीर खिचेझैं मस्तिष्कको रिलमा कसरी सबै कैद गर्न सक्यौ ? शब्दहरुसित क्यामेरा पनि ल्याएका थियौ तिमीले ?

त्यति सानो मान्छे तिमी । ऊ बेला कसरी नाङ्गो आँखाले आकाशको जून र सन्दकपुरको गुराँस एकैचोटि मस्किएको अनुभव ग¥यौ ? यो दशकको ठिटोले इन्टरनेटमा यूरोपकी केटीसित भर्चुअल च्याट गर्दा आज भन्छौ होला , ‘मोरो, कुइरेनीसित गफगफमै डेटिङ् जाँदो रहेछ ।’ तिमीले पनि त कुहिरोको घुम्टो हालेर लजाउँदै बस्ने तिम्री इस्कुले मायालुलाई लाइन मारेको क्या त उहिल्यै । अहिले सम्झ्यौ ? दाजु बड साखुल्ले पार्छौ । बिर्सेजस्तो गर्छौ तिमी ।

अँ भन्दैथें, तिमी त अहिले पनि यो सहरका यतिका मान्छेका भीडमा परैबाट छुट्टिदा रहेछौ । तिमी अझैसम्म पनि छातीभरि गाउँ बाँचिरहेका रै’छौ । माफ गर दाजु, पाप सोचेछु व्यर्थै । इलाम फर्क दाजु । पाराङकाइँलाकोबाट एक बोत्तल रक्सी राखेर ढोग्छु तिमीलाई । तिम्रो मित घुम ओडेर अहिले पनि गाईवस्तु चराइरहेको छ लेकाली हुस्सुमा । हिजोआज त मोबाइलमा रेडियो सुन्छ ऊ । उहिले टा«न्जिस्टर झण्डै फुटालेर ऊसितै रेडियोका मान्छे हेर्नखोज्दा तिम्रा बाको चड्कनको हेभीमेटल संगीत बिस्र्यौ दाजु तिम्ले ?

पर्यटनको केन्द्र भएको छ इलाम अहिले । चिया बेच्छ दाजु चिया । ऊ टी टुरिज्म गर्छ । हत्केलामा ग्रामीण सत्कारको थाली बोकेर घाम, कुहिरो, हिमाल सबैसबै बेच्न थालेका छन् इलामेलीहरुले । तिमीले उकालोमा बा¥हगोलाइको उकालो जीप ठेल्दै हिलोबाट निकालेको राजमार्ग अहिले पक्की मेची राजमार्ग भइसकेको छ । तिमीलाई अचम्म लाग्दैन ? प्रत्येक गाउँमा अहिले गाडी पुग्न थालेको छ ।

“इलामको ह्याङ्ओभर ” तीन पृष्ठमा लेखिसक्ने तिमी । हिंड दाजु, अहिले कुटुरो कस । के पश्चिम पहाडको बारे उपन्यास लेख्ने कुरा सोच्छौ । तिमीले पाँचसय पृष्ठमा पनि लेखिनसकिने भइसकेको छ इलाम ।

यत्तिकै कपाल फुलायौ दाजु तिमीले यो कृत्रिम सहरमा । तिमी सहर पसेर बुढा भयौ । हाम्रो इलाम चाहिं झन् झन् तन्नेरी हँदैछ । सबले गएर कुल्चिन्छन् त्यहाँको कुमारी माटोलाई । धन्य भएको महसुस गर्छन् जीवनमा एकपटक । तै पनि कस्तो , त्यो त अझै हरियो हँदै जाँदैछ । त्यो मस्त जवान हुँदैछ । सदाबहार भएको छ । तिमीले त्यै हरियोलाई प्रेम गर्न सिक्यौ । त्यसैले आज यहाँ उभिन पाएका छौ ।

इलामलाई भ¥याङ् बनाएर स्वर्ग उकालिनेहरुले बुझेनन्— इलाम भ¥याङ् थिएन बरु आफैंमा स्वर्ग थियो । सिँढी थिएन आफैंमा गन्तव्य थियो ।

इलाम हाम्रो मूल खाँबो । फर्कौं दाजु एकपल्ट उतै । कस्ताकस्ता सिद्धहस्त लेखकले अनेकन् शिल्प जडेर लेख्दा पनि कहिल्यै लेखिनसकिएको, लेखिन बाँकी महाआख्यान हो ।

भर्खर त एक बारी इलाम मात्र लेखिसक्यौ दाजु । यति उमेर कटाइसक्यौ । इलामलाई छेउकुनो तिम्रा अक्षरले जोत्नै बाँकी छ । राँटा सम्याउनै बाँकी छ । यत्तिकै जुनी कटाउँछौ र दाजु !

अमेरिका र यूरोपको कुइरेले हाम्रो कुइरो लगेर सेमिनारको प्रतिवेदनमा बेच्छ । ऊ ताली र पैसोले मालामाल हुन्छ । तिमी दाजु यसै थचक्क बसिरहेछौ । कुइनोले हातमा थाप्लो टेकाएर यसै के अनाम पहाडमा कावा खाँदै फनफनी घुमिरहन्छौ ?

विकासले हामीलाई कहाँ पु¥याइसक्यो । ओलन पिएर ज्यान बनाउने, मोही खाएर तिर्खा मेट्ने, घिउ खारेर हर्पेमा हाल्ने तिम्री आमा त हुन् । अहिले त ढुङ्ग्राबाट सिधै डेरी हुँदै त्यो दुग्ध विकास संस्थान पुग्छ । तिमीले केटकेटीमा देखेका चोरीहरु माइमझुवातिर चर्दै होलान् । गाडी हुइँकिएर आउँछ र एकै ट्रिपमा माल उठाएर लान्छ । यो प्रदुषित धुलो के तान्छौ न्यास्रो मनले । इलामको त हावा पनि ‘वस्तु’ भएको छ । त्यो बिक्री हुन्छ । तर तिमी हिँड मात्रै दाजु । तिमीलाई निःशुल्क मिल्नेछ ।

परदेशी छोरो घर फर्किदा कुन आमाको मन रमाउदैन र !

पर्यटन वर्ष २०११ आउँदैछ । तर तिमीलाई गाउँ फर्किन कुनै आइतबार चाहिन्न । हिंड दाजु यसैपाला जाउँ, एकपटक इलाम नपुगी स्वर्ग देखिदैन ।

दाजु, बरु जीवनदेखि निराश तिम्रा कोही दौंतरी छन् भने एकपटक इलाम पठाइदेऊ, इलामले जीवनलाई सृजनशील कर्मशील ढंगले कसरी प्रतिक्षण बाँच्नुपर्छ उपाय सुझाएर फर्काउँछ । त्यस्ता टिप्स वेबसाइटमा खोजेर कहाँ पाइन्छ ?

पुरस्कार र सम्मानका औपचारिक बधाइ, माला, दोसल्लाहरु फुकालेर इलाम हिंड गाउँले दाजु । तिमी मनपरेको ‘आफ्नो’ लाईृ रमेशलेझैं किन यति सुदुरबस्तीबाट माया गर्छौ ? किन नोस्टाल्जिक हुन्छौ ? किन भक्कानिन्छौ ?

जे होस् तिमीलाइ इलाममा स्वागत छ । अन्तुको सूर्योदय तिमीलाई । माङ्मालुङ र गजुरमुखीको भाकल तिमीलाई । माइपोखरी र मंगलबारेको गुराँस तिमीलाई । जीवनको हरियाली तिमीलाई । इलामेली माटो, मन र मुस्कान तिमीलाई ।

सबैसबै तिमीलाई । परिचित भएरै पनि बस्तीमा अपरिचित दौंतरीलाई । परदेशिएको छोरालाई ।

तिम्रो गाउँले भाइ
कीर्तिपुर
basantakbanet@yahoo.com
Read more >>