जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको लीला ।

“उफ ! कस्तो थकाई लागेको, पानी पिउन पर्यो “- लौ ! पानी पनि सकिएको रहेछ आधारात भैसक्यो यतिबेला पानी लिन कहाँ जाने, भैगो भोलिको दिन कुर्नु पर्ला निन्द्रा पनि लागेको छ । अहो ! कस्तो भिर होला यो भिर काटेर कसरि पारि पुग्ने होला ! खै अन्त बाटो पनि छैन यहाँबाट खसियो भने त सिदै नदिमा पुगिन्छ। शहर पुग्नुपर्ने बाटोमा कोहि साथी पनि भेटिएन घनघोर जगंलको बाटो कसरी काट्ने हो ? जे परे पर्ला नडरा जान्छु अब आधाँ बाटो काटि सके ।

कति सुनसान छ यो जंगल, चरा चुरुङगिको चीरविराहाट, कोईलीको कुहुँ-कुहुँले मलाई साथ दिए जस्तो छ, मान्छेको आवात जावत त्यस्तै हो क्यारे । हँ ! त्यो परबाट आउँने को होला । हातमा केहि लिई आए जस्तो छ जो भए पनि कुनै मान्छे त भेटियो ।
अहो, वैनी हतार हतारमा कता जान लागेकी ? ए साईला दाई पो शहर जान लागेकी क्या हो ।

“साईला दाई, दिउसै रक्सि खाएर टिल्ल, जिन्दगीलाई रक्सि र जुवामा उडाउन हुदैन, दाई” । ल ल जान्नि हुनु पर्दैन, आफ्नो बाटो लाग । बिचार गरेर जानुनी बाटोमा टायर बाल्ने ढुङगा मुडा बर्षाउने गरेका छन् । किन दाई के भयो र ? के हुनु र उहि त हो नि देशको ढुकुटि रित्तायाउनेहरु जनताको रासन पानी तोल मोल गर्यो । जनताहरुको माग चर्किदै जान्छ । नेताहरुको मुख बन्दको बन्दै उहि त हो काग कराउदै जान्छ, पिना सुक्दै जान्छ, अनि त जनताहरु आक्रोशको ज्वाला निकाल्न सुरु गर्छन । त्यसैले नानी देखिनस बम बारुदको बिचमा हुम्मिनु भन्दा र बिच सडकमा टाएर बाल्नुभन्दा यो बोतलको पानिसँग दु:ख साट्नु ठिक लाग्छ ।

के गर्नु वैनि बाटोको बटुवा बाटोमानै निदाईन्छ । “लौ दाई, हजुरलाई जति संझाए पनि लाग्दैन ढिला भैसक्यो”- म लाग्छु ल दाईले भनेको ठिकै रहेछ । हाम्रो देशको गति बाटोजाम गरेर के पाउने हुन अब कसरी पुग्ने शहर ? कति सपना बोकेर हिडेका थिएँ । मृत शरिर जमिनमा ढलेको छ, जहाँत्यहि लासको पसारो छ तर पनि लाशको छाति माथि टेकी तोडफोड गर्न छोडेका छैनन् ।

ओई तलाई मर्न मन छ, यो भिडमा उभिएकी ? नाई नाई मलाई मर्नु छैन मलाई केहि नगर्नुस नाई ......... सबिता के निदमा पनि नाई नाइ भनेकी उठ क्या । कस्ले के गर्यो तलाई ? निदरिले परेलिलाई छोड्यो, अन्जान जस्तो गरि नयन उठ्यो, कता कता डरले मन अत्तालियो, घाँटी सुकेको थियो, पसिनाले निथ्रुक भिजेको थियो । कस्तो सपना देखेको होला अनि मेरो नजर सितातिर जुध्यो । सिता, तेरो हातमा चुरोट- मैले त सोचेकी थिए, तँ मेरो असल साथी जस्ले चुरोट, रक्सि छुदैन तर तँ मैले सोच भन्दा फरक रहेछस् ।

आ.... सबिता पनि कस्तो कुरा गर्छे । तसँग फाल्तु कुरामा बक्वास गर्नुभन्दा नबोलेकै राम्रो । तँ जुन सच्चाईको बाटो खोज्दै हिड्छेस्नि, सधैपछि पर्छेस्, “धर्म गरे कर्म जान्छ, पाप गरे फलिफाप हुन्छ”, हेर त साथीहरु कति मजाले जिन्दगी जिएका छन आखिर पैसा कमाउन त हो, दिनमा दुईचारजना पटाईयो भने त दश विश दिनार कमाईन्छ । जस्को साथमा पैसा छ, उसंग घर, गाडी र इज्जत हुन्छ । तैलेजति ईमान्दारको रोटि खोज्छेसनि उतिनै बदनामको आँशु मिल्छ अनि तेरो जिन्दगी गहिरो तालमा डुब्छ, पातमा परेको सितको थोपा जस्तो हुन्छ, बुझिस् ।

तेरो घिनौना कुरा सुन्नु छैन्, मलाई । दुई चार पैसाले तेरो ईज्जत किन्लिस तर ईमान्दारिता होईन । तँ मा हुनुपर्ने जुन स्वाभिमान छैन, जुन एक नारिमा हनुपर्ने हो । “तँ यहाँबाट गहिहाल ।“ हे दैब ! कस्तो लिला रच्यौ तिमीले हेर आज हाम्रा दिदि बैनि आफ्नो जिउको खेति दिनारमा गर्दैछन् । बास बस्ने घर पनि वेश्यालय बनेको छ । म पनि कस्तो अभागि यो मरुभुमिमा कैले कहाँ कैले कता कर्मसँग ठोकिदै हिडे । थकाईका आँखा बन्द गर्छु सपनामा पनि दु:खले पच्छाउछ, परेली उठ्छ, वेश्यालयभित्र बिचित्र देख्नुपर्छ । मान्छे भएर पनि मान्छेको ईज्जत छैन्, यहाँ । आफ्नो जिउलाई दुई चार भलादमी भनाउँदाका ओच्छ्यान बनाएका छन् । आँखा बन्द गर्छु, अंधेरि रात काट्न । फेरी बिहानी पखले छुन्छ अनि म अघोषित वेश्यालयभित्र आफूलाई पाउँछु ।

मेरो दिनचर्या यसरी नै बित्दै गए, दिन भरि सोह्र घन्टाको ड्युटि गर्नुपर्थ्यो, डियुटि सकिएपछि म फेरि उहि वेश्यालयभित्र दिनारमा जीउ ओच्छ्याउनेहरुको चर्तिकला हेर्न बाध्य हुन्थे । साथीहरु मेरो मुखमा दिनारको बिटो देखाउदै, लौ हेर पाँच दश मिनेटमा पाँच दश दिनार आउँछ । तँ सोह्र घन्टा उभिएर पनि यति धेरै पैसा कमाउन सक्दिनस् । भोलि मरेपछि माटोमा मिलाउने शरिर हो जिउडाल देखाएर के काम एक छिन ओच्छायो दस बिस दिनार आउँछ ।

उनीहरुको पेशानै जीउ दिनारमा बेच्ने काम थियो । मैले संझाउन खोज्दथे तर सुन्दैनन्थें, पचास साठि दिनार कमाउने लोभमा पाकिस्तानी, बंगाली, ईजिवशियन, कुवेती जस्ता उनीहरुको दिनार बन्थे । उनीहरुलाई यो पनि थाहा थियो नै, यस्तो क्रियाकलपबाट एच आई भि जस्तो प्राणघातक रोग लाग्न सक्छ, यौन रोग सर्न सक्छ तर पनि मजा दिने पैसा लिने व्यवसाय देखेर होला, उनीहरुले जिन्दगी चिन्न सकेनन् ।

सोह्र घन्टाको डियुटि सकिएपछि कोठामा आयो कुवेतीका साथमा चुरोटको धुँवा, हुस्किको बोतल अनि अर्धनङघ्न शरिर एक अर्कामा लिप्त हुदै मदहोसमा हुन्थे । देखेर पनि नदेखेको जस्तो गरि बस्नुपर्थ्यो, थकाई लागेको हुँदा कोलाहाल मच्चाइए पनि दुई नयन परिबन्धनमा पर्थे ।

सपनीमा पनि कैले भिर, कैले पाखामा लच्छारिएको देख्थे । आफुमाथि कुनै बज्रपात परे जस्तो गरि चिच्चाउदै हिड्थे । सपनीको चित्कारले आफै झंसंग हुदै बिउँझन्थे अनि मेरा आँखा निवर्त्र अर्धनग्न भएका दिदि बैनि माथि पर्थ्यो । रक्सिको बोतल हातमा लिएर जमिनमा पसारिएको हुन्थे, उनीहरु । सायद उनीहरुलाई त्यही स्वर्ग लाग्थ्यो तर म भने चुरोटको धुँवा र रक्सिका वोत्तलहरुले घेरिएको अघोषित वेश्यालयभित्र हुन्थे ।


[ यो कथा काल्पनीक हो कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुने छ ।-Writer ]

जानकी, कुवेत
Read more >>


मनोज दाहाल- कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी तहसनहस भयो? कथा यसरी सुरु हुन्छ :

२०६८ असार १५।
‘तपाईं आफ्नी स्वास्नी तह लगाएर राख्न सक्नुहुन्न? ऊ जहिल्यै मेरो बुढोलाई आपत्तिजनक एसएमएस पठाउँछे, आइ लभ यु, डार्लिङ, मिस यु, केके लेख्छे। तपाईंकी स्वास्नीले गर्दा मेरो त घरै बिग्रिने भयो, ऊ पहिल्यैदेखि मेरो बुढोको गर्लफ्रेन्ड रहिछ, यस्तो थाहा पाएकी भए म बिहे नै गर्ने थिइनँ।'

यो दिन वाइके कार्यालय जान तयार भइरहँदा उसको ल्यान्डलाइनमा अचानक यस्तो फोन आएको थियो। थाहा पाइहाल्यो- लाइनमा उतापट्टि फलानोकी श्रीमती थिई। ऊ खङ्रंग भयो। कहिल्यै नचिनेकी महिलाले पत्नीको नाम लिँदै उसलाई रुखो स्वर गर्दै थिई। साढे आठ वर्षदेखि वाइकेको छातीमा घाउ बिझेको थियो। पत्नी र फलानोबीच झाँगिएको सम्बन्धको घाउ। लानोकी पत्नीले नै फोन गरेपछि वाइके टुंगोमै पुग्यो- उसले जे शंका गरेको थियो, त्यो साँचो रहेछ । लामो खटपटले वाइके र उसकी पत्नीको सम्बन्ध यसै कमजोर भइसकेको थियो। उसलाई लाग्यो- अब डिभोर्सबाहेक अरू विकल्प छैन।
...
२०५९ फागुन २६।
यो दिन वाइकेको बिहे भएको थियो । ऊ काठमाडौंबाट बिहे गर्न गाउँ गएको थियो। सुरुमा कुरा चलेको केटीसँग केके नमिलेर बिहे हुन नसकेपछि हतारहतारमा उसको अहिलेकी पत्नीसँग बिहे भएको थियो। ऊ पनि अहिले त भूपू भइसकी।
खुब खुसी थियो वाइके। पत्नी पनि खुसी देखिन्थी । वाइकेलाई लागेको थियो, जीवन यति रोमाञ्चक हुने थाहा पाएको भए अलि पहिले नै बिहे गरे पनि हुने रहेछ। उसका केही महिना केही दिनजसरी बिते ।

केही महिनापछि पत्नीले भनी, ‘बिहेभन्दा अघि मेरो फलानोसँग सम्बन्ध थियो। हाम्रो सम्बन्ध त साधारण हो तर मान्छेहरूले धेरै कुरा काटे।' वाइकेलाई त्यसबेला आफ्नी पत्नी विचरीजस्तो लागेको थियो। उसले मन फराक पारेको थियो- उमेर पुगेका, बिहे नभएका केटाकेटीबीच सम्बन्ध हुनु कुन नौलो कुरा भयो र!

वाइकेलाई भने बिहेअघि पनि केटीहरूसँग लाज लाग्थ्यो। उसले जीवनमै सिधा आँखाले हेरेको पहिलो महिला उसकी पत्नी नै थिई। लभसभको चक्करमा ऊ कहिल्यै परेन । तैपनि छाती ठूलो पारेर उसले पत्नीलाई भन्यो, ‘पुराना कुरा बिर्सिदेऊ, अब हामीले एउटा बेग्लै संसार बसाउनुपर्छ, वास्तविकता यही हो।' भन्न त भन्यो तर त्यही दिनदेखि उसलाई पत्नीले लुकीलुकी कतै फोन/एसएमएस गरेको आभास हुन थाल्यो। उसले पत्नीका गतिविधिमा अलि ध्यान पनि दिन थालेको थियो।
हो रहेछ । उसकी पत्नी फलानोलाई दैनिक आठदस चोटि नै फोन/एसएमएस गर्दिरहिछ। फलानो र उसकी पत्नी रातबिरात, दिउँसोबिहान केही नभनी फोन/एसएमएसमा भिडिरहँदा रहेछन्।

वाइकेले धेरैचोटि पत्नीलाई सम्झायो, ‘तिमी अब फलानोलाई फोन नगर, एसएमएस नपठाऊ, ऊबाट टाढै बस।' पत्नी पनि मुखेन्जी त हुन्छ भन्थी। फलानोको एसएमएस पाएपछि भने उसको मन पनि चुमचुम गरिहाल्दो रैछ। एसएमएस शृंखला जारी रह्यो ।

...
२०६१ असोज २३।

यो दिन वाइकेको पहिलो छोरा जन्मेको थियो। केही दिन त छोराको हेरचाह, न्वारान र त्यसकै सेरोफेरोमा बित्यो। वाइके र उसकी पत्नी दुवै रमाएका थिए। व्यस्त पनि थिए । केही महिनामै फलानो र उसकी पत्नीको एसएमएस दोहोरी सुरु भइहाल्यो । राति, दिउँसो, बिहान जुनसुकै बेला पत्नीलाई फलानोको एसएमएस आउने थाहा पाएपछि वाइके रन्थनिन थाल्यो। पत्नीलाई सम्झाउँथ्यो। ऊ भन्थी- हामी दाजुबहिनी हौं । लुकीछिपी उनीहरूको एसएमएस पढ्दा वाइकेलाई रत्तिभर विश्वास लाग्दैन थियो। उनीहरूका शब्द लोग्नेस्वास्नी जत्तिकै निकट थिए ।

उसलाई भित्रभित्रै आफूचाहिँ बाहिरी मान्छे, आफ्नी पत्नी र फलानोचाहिँ लोग्नेस्वास्नीजस्तो लाग्न थाल्यो। टाउको बेस्कन दुख्न थाल्यो । मनमा हुन्डरी चलेको थियो। सुनाउने मान्छे कोही थिएन । एक दिन पत्नीलाई भन्यो, ‘एसएमएस पठाऊ, मेरो कुनै आपत्ति छैन, तर त्यहाँ प्रयोग हुने शब्दहरूसँग मलाई आपत्ति छ।' उसले त्यो दिन पत्नीलाई धेरै बेरसम्म खेरिरह्यो, ‘फलानोसँग दाजुको सम्बन्ध हो भन्छौ तिमी, एसएमएसै पिच्छे आइ लभ यु, डार्लिङ, किस यु, मिस यु लेख्ने कस्तो दाजुबहिनीको सम्बन्ध हो?'

पत्नीले केही होइन भनिरही। भन्थी, 'कस्तो शंकालु मान्छे, दाजुबहिनीको सम्बन्धमा पनि विश्वास नगर्ने!' फलानोसँग वाइकेकी पत्नीको सम्बन्ध भने बिस्तारै झ्यागिँदै गयो । ऊ कार्यालय गएको बेलामात्र होइन, घरमै बसेका बेला पनि उसकी पत्नी फलानोसँग फोनमा लामोलामो कुरा गर्न थाली । वाइकेले घरमा फोन जोडेको थियो। त्यसको बिल जहिल्यै बढीबढी आउन थाल्यो। डिटेल्सबाट थाहा पायो, उसकी पत्नी फलानोलाई लामोलामो एसटिडी कल गर्दिरैछे। रातबिरात, जुनसुकै बेला। उनीहरू घन्टौं फोनमा बिताउँथे ।

यसैबीच फलानो एसटिडीबाट लोकल नम्बरमै आइपुग्यो, सरुवा भएर। त्यसपछि वाइकेको ल्यान्डलाइन बिल अचानक ओर्लियो। फलानोसँग उसकी पत्नीको सम्बन्ध भने फोन/एसएमएसबाट एक कदम अगाडि बढ्यो। उनीहरूबीच नियमित भेटघाटै हुन थाल्यो । वाइकेलाई छिमेकीले भन्न थाले, ‘तिम्रो घरमा त दिउँसोदिउँसो एउटा केटा बाइक लिएर आउँछ र दिनभरि बसेर जान्छ।''हामी उनीहरूलाई दिनभरि छतमा जिस्किएको देख्छौं।' बैंकमा काम गर्ने फलानो मार्केटिङको बहानामा वाइकेको घर आउँदोरहेछ र दिनभरि बसेर जाँदो रहेछ । उसको टाउको झनै रनन्न हुन थाल्यो। लामो समयदेखि शंका गर्दै आएको फलानोको पत्नीसँग नियमित उठबस नै हुन थालेको थाहा पाएपछि वाइकेको निद्रा हरायो । यसैबीच फलानोको बिहे भयो ।

वाइकेलाई लाग्यो, अब त मेरो घर सुध्रेला। 'बिहे भइसकेपछि त फलानोले मेरी श्रीमतीलाई आइ लभ यु डार्लिङ, मिस यु भनेर एसएमएस पठाउँदैन कि!'नभन्दै एकदुई महिना एसएमएसको भोल्युम निकै पातलो भयो । वाइकेको आशा लामो टिक्न भने सकेन। फेरि एसएमएस दोहोरी सुरु भइहाल्यो, पुरानै गतिमा ।

...
२०६६ साल जेठ २८।
यो दिन वाइकेको कान्छो छोरा जन्मेको थियो। वाइके श्रीमती स्याहार्थ्यो, बच्चाको हेरचाहमा व्यस्त हुन्थ्यो। अब त आफ्नी पत्नीसँग फलानोको सम्बन्ध टुंगिएला कि भन्ने आशा गर्थ्यो । यसैबीच वाइके परिवार धोबीघाटको डेराबाट कपनको घरमा सर्यो। आफू, पत्नी र छोराहरूको भविष्यका लागि एउटा घर आवश्यक छ भन्ने ठानेर उसले ऋणपान गरेरै भए पनि बासको प्रबन्ध गर्यो ।

वाइकेले बच्चा स्याहार्यो, पत्नी स्याहार्यो, बासको प्रबन्ध गर्यो। घर स्याहार्ने उसको प्रयास भने सफल हुन सकेन। उसकी पत्नी र फलानोबीच फोन र एसएमएसको दोहोरी जारी नै रह्यो । आफू कार्यालय गएका बेला उसकी पत्नीलाई भेट्न फलानो घरमै आइरहने वाइकेले थाहा पाइरह्यो । तैपनि वाइके घर भाँड्न नदिने प्रयासमै लागिरह्यो। दुवै छोरा हुर्कंदै थिए।
वाइके र पत्नीको सम्बन्ध भने कसरी चर्किसकेको थियो भने उनीहरू एउटै घरमा पनि बेग्लै कोठामा बस्न थालेका थिए। औपचारिकता बाहेक अरू बोलचाल हुन्थेन। भेट हुँदा आँखा तरेर हेर्थे। सम्बन्धको सबै रस निखि्रसकेको थियो । यहीबीच २०६८ असार १५ आयो जुन दिन फलानोकी पत्नीले वाइकेलाई फोन गरी र ‘आफ्नी पत्नी सम्हालेर राख्न' सम्झाई।
...
२०६८ साउन १४।
पत्नी र फलानोको सम्बन्धले आजित भइसकेको वाइकेले यो दिन पशुपति मन्दिरमा फलानोलाई भेट्यो र भन्यो, ‘तपाईं र मेरी श्रीमतीको एसएमएस दोहोरीले म वाक्कै भइसकेँ। तपाईंहरू दुईजना आइ लभ यु र डार्लिङको सम्बन्धबाट धेरै अगाडि जानुभएको हो भने मेरो भन्नु केही छैन, स्विकार्नुस् मेरी श्रीमती। मलाईचाहिँ छुट्कारा चाहियो। दुइटी श्रीमती अरूका पनि हुन्छन्, लानुस्। लगेर सँगै राख्नुस्।'

फलानोले उल्टै वाइकेलाई सम्झायो। भन्यो, ‘लौ, के कुरा गर्नुभएको, वाइकेजी? तपाईंकी श्रीमती त मेरी छिमेकी बहिनी हुन्, के अरूको लहैलहैमा लाग्नुभएको?' विचरा वाइकेले कसरी पो विश्वास गरोस्! उसले झन्डै नौ वर्षदेखि पत्नीको व्यवहार झेल्दै आएको थियो। फलानो र आफ्नी पत्नीको फोन/एसएमएस दोहोरीले ऊ अब पागलै हुनमात्र बाँकी थियो।
वाइकेले फलानोलाई भन्यो, ‘तपाईंहरू दुईलाई बिहेअघिदेखि नै सबैले शंका गरिआएका रहेछन्, अहिले आएर मैलेमात्र कसरी पत्याउने? ठिक छ, तपाईंहरू दाजुबहिनी नै हो भने हाम्रो घरमा आउनुस् र मेरी श्रीमतीको टाउकोमा हात राखेर 'तिमी मेरी बहिनी हौ' भनिदिनुस् न त!'

फलानोले भन्यो, ‘हुन्छ, यत्ति गर्न मलाई कुनै आपत्ति छैन।' घर सप्रेला कि भन्ने झिनो आशा वाइकेको मनमा पलायो । तर, त्यसपछि फलानो कहिल्यै देखिएन । फोन/एसएमएस दोहोरी भने चलिरह्यो।
...
२०६८ भदौ ५।
यो दिन वाइकेकी पत्नीको जन्मदिन परेको थियो। पत्नीसँग नबोलेको महिनौं भइसके पनि उसलाई लाग्यो- आजकै शुभदिनले हाम्रो जीवनको तिक्तता मेटिहाल्छ कि! उसले अझै एकबाजी प्रयास गर्ने विचार गर्यो । त्यही आशामा उसले पत्नीलाई भन्यो, ‘ह्यापी बर्थडे टु यु।'

एउटै घरमा सँगै बस्ने पत्नीलाई एसएमएस पनि पठायो, ‘तिमीलाई जन्मदिनको धेरैधेरै शुभकामना। जे हुनु भइसक्यो, आजको दिनले हामी दुवैलाई सँगै मिलेर बस्न प्रेरणा देओस् भन्ने प्रार्थना गर्न चाहन्छु।' पत्नीको जन्मदिनको तीन दिनअघि वाइकेलाई लागेको थियो, अब पत्नीसँग एउटै घरमा बस्न सकिँदैन। छुट्टिनुबाहेक विकल्प छैन। तैपनि उसले पत्नीसँग अन्तिम संवाद गरेको थियो, ‘अब जे गर्ने भए पनि निर्णय गरौं। कि छुट्टिऔं, कि मिलेर सँगै बसौं। म त भन्छु- हुने हुनामी भइसक्यो, पुराना कुरा सबै बिर्सिदिऊँ, यी दुईजना लालाबालाकै लागि भए पनि साझा समझदारीमा सँगै बसौं।' पत्नी केही बोलिन। उसले बोलुन्जेल चुप लागेरै सुनिरही।

वाइकेले भन्यो, ‘सँगै बस्न तिमी मान्दिनौं भने भदौ १७ गते म घर छाड्छु।' उसले पत्नीलाई दुई साताको म्याद दिएको थियो । पत्नीले यत्तिचाहिँ भनी, ‘तपाईंको घर हो, किन छाड्नुहुन्छ? मै छाड्दिउँला नि!' सँगै मिलेर बस्न सकिने/नसकिनेबारे पत्नीले एकै शब्द नओकलेपछि वाइके झनै दिग्दार भएको थियो। तैपनि उसले जन्मदिनमा पत्नीलाई फकाउने अन्तिम प्रयास गर्यो ।

...
२०६८ भदौ १५।
यो दिन वाइके कार्यालय गएको मौकामा पत्नीले घर छाडेकी थिई । बेलुका ऊ घर आउँदा पत्नी थिइन। कहिलेकाहीँ राति ढिला घर आउँथी। कम्प्युटर सिक्दैछु भन्थी। त्यो दिन भने ऊ अबेरसम्म पनि आइन । वाइके झनै रन्थनियो। पत्नी खोज्न पुलिस गुहार्यो। सासुससुरालाई फोन गर्यो। सासुससुराले उल्टै हप्काए, ‘हामीले तिमीलाई छोरी दिएका हौं, तिमीले नै खोज्नुपर्छ।'पछि थाहा पायो, सासुससुरा भने छोरीसँग निरन्तर सम्पर्कमै रहेछन्।

पत्नीले घर छाडेपछि दुईदुई बच्चाको एक्लै पालनपोषण गर्न नसकेर वाइकेले कान्छो छोरालाई बुबाआमासँग गाउँ पठाइदियो। काठमाडौंमा पढ्दै गरेको जेठो छोरालाई पनि भाइको डेरामा राखिदियो। ऊ पनि घरमा ताला लगाएर कहिले भाइहरू, कहिले दिदीहरू, कहिले साथीहरूकहाँ गएर रात गुजार्न थाल्यो । नौवर्षे सम्बन्धको सबैभन्दा तनावपूर्ण दिनहरू थिए ती।
अलि दिनपछि पत्नीले वाइकेलाई एसएमएस गरी, ‘मेरा दुई छोराको बाउ तपाईं नै हो भन्ने प्रमाण के छ?' ऊ अब फलानोसँग आफ्नो सम्बन्धबारे खुल्न थालेकी थिई। वाइकेलाई हेप्न थालेकी थिई ।

वाइकेलाई लाग्यो, अब कानुनी रूपमै छुट्टिनुबाहेक अरू विकल्प छैन। फलानोसँगको सम्बन्धमा गहिरोसँग डुबेकी उसकी पत्नी पनि बिस्तारै डिभोर्सकै बाटो खोज्न थालेकी छ भन्ने वाइकेले सुन्न थालेको थियो । डिभोर्सको कानुन धेरै कडा थियो वा अर्को शब्दमा भनुँ, धेरै नरम थियो। लोग्नेमान्छेलाई धेरै कडा, स्वास्नीमान्छेलाई धेरै नरम । पत्नीले चाहे एकै दिनमा डिभोर्स गर्न मिल्ने नरम कानुन। पतिले अदालतमा डिभोर्सको निवेदनै दिन नपाउने कडा कानुन । वाइके पति थियो अर्थात ऊ जति नै पीडित भए पनि एक्लै डिभोर्स गर्न पाउँदैन थियो।
धन्य! उसकी पत्नीले पनि डिभोर्स नै चाहेकी थिई । एक दिन वाइके र उसकी पत्नी सिनामंगलको एउटा रेस्टुराँमा भेटे। पत्नीले भनी, 'म डिभोर्स दिउँला, कति पैसा दिनुहुन्छ?'वाइके पत्नीलाई डिभोर्सवापत साढे तीन लाख अंश दिन राजी भयो।
...

२०६८ पुस १८।
यो दिन वाइके र उसकी पत्नीको डिभोर्स भएको थियो । अघिल्लो दिन पत्नीले काठमाडौं जिल्ला अदालतमा डिभोर्सको मुद्दा हालेकी थिई। साढे तीन लाख बुझी र कागजमा दस्तखत गरिदिई । अदालतले वाइके र उसकी पत्नी सँगै बस्न नसक्ने भएकाले सम्बन्ध विच्छेद भएको फैसला सुनाइदियो । डिभोर्सको चार दिनअघि मैले भेट्दा वाइके निराश, दुखी र अवशादले भरिएको देखिन्थ्यो। उमेरभन्दा कम्तिमा पाँच वर्ष बुढो भएको थियो। नौ वर्षको सम्बन्धले विचरालाई गाल्नुसम्म गालेको थियो । झुस्स दारीजुँगा पालेको थियो । जीवनमा उसले एउटै स्वास्नीमान्छेसँग सम्बन्ध जोडेको थियो। त्यही तिक्ततामा जीवनको महत्वपूर्ण समय गुजारेको थियो ।

वाइकेले मलाई भन्यो, ‘बुझ्नुभयो, यी स्वास्नीमान्छेको केही भर हुँदैन रहेछ, थुइक्क!'म हाँसेमात्र ।

डिभोर्सको एक महिनापछि बानेश्वरमा भेट्दा भने वाइकेको अनुहारमा एउटा चमक थियो। एक महिनाअघि भेटेभन्दा त कति फरक, कति। दारीजुँगा काटेर ऊ अर्कै देखिएको थियो। ह्यान्डसम । मलाई देखेर ऊ मुस्काएको थियो । हामी बबरमहलसम्म हिँड्दै आयौं, सँगै चिया खायौं र एकछिन बात मार्यौं। जेठो छोरालाई पनि उसले बुबाआमासँग गाउँ नै पठाइदिएछ। एक्लै कसरी केटाकेटी हेरोस् विचरा !

कपनको घर बेचेर सबै ऋण तिरिदिएछ। अहिले ऊ कहिले भाइ, कहिले दिदी र कहिले साथीहरूको कोठामा रात गुजार्दो रहेछ। मान्छे भने फ्रेस देखिन्थ्यो । मैले जिस्क्याएँ, ‘फेरि बिहे गर्ने होइन त?'जवाफमा वाइके मुस्कायो। अग्लो र पातलो ज्यानको ऊ मुस्काउँदा अझ ह्यान्डसम देखिएको थियो ।


श्रोत: नागरिक
Read more >>

-किशोर नेपाल

छोरी अनुपमाले सपनामा पनि सोचेकी थिइन, यस्तो होला भनेर। तर कहिलेकाहीँ सपनामा नसोचेको कुरा भइदिन्छ। बिहेको जग्गेमा बस्न मेहदीले हात सजाएर बसेकी छोरीको रहर र उत्सुकता एउटै घटनाले मारिदिएको थियो। 'जन्ती नआउने भयो,' छोरीले सुनी। उसका नौनाडी गले। चिटचिट पसिना आयो कन्चटमा। किन नआउने भयो जन्ती?

अनुपमाले बुझ्नै सकिन। पोहोर पनि यस्तै भएको थियो। बिहेको ठीक तीन दिनअघि केटाले उसँग बिहे गर्न इन्कार गर्दै भनेको थियो, 'ऊजस्तो खेलीखाई गरिसकेकी केटीसँग बिहे गरेर आफ्नो जिन्नगी बर्बाद गर्नुछैन। योसँग बिहे गर्नैपर्छ भने ठेरी बजारको घर दहेजमा पाउनुपर्छ।'

खेलीखाई त उसले गरेकी नै थिई। त्यसमा के नै ठूलो कुरो थियो र? कन्या कलेजमा पढे पनि अनुपमाका धेरै केटा साथी थिए। ती सबैसँग उसको भावनात्मक र शारीरिक कुनै न कुनै प्रकारको लसपस थियो। दुईचार जनासँगको सम्बन्ध चुमा-चाटीबाट अघि बढेको थिएन भने दुईचार जनासँगको सम्बन्ध-यात्रा सफारी जिपमा चढेर दुईचार सय किलोमिटर परसम्म हुइँकिइसकेको थियो। अनुपमाका आफ्नै नैनी चचाले बनाउन लागेका अबधी सिनेमाको हिरोइन बन्ने आशामा ऊ सिनेमाका डाइरेक्टरसँग लोकेसन टुरमा लखनउ र बरेली गएकी थिई। फर्केर आएपछि दुईचार साता एक्टिङको ट्रेनिङमा पनि अल्भि्कई। नैनी चचाले फिल्म बनाए पनि ऊ हिरोइन बन्न सकिन। हिरोइनकी साथीको सानो रोलमा नै सन्तुष्ट भई। उसको अतिशय खेलकुद देखेर चिन्तित भएका बाबाले बिहेको कुरा उठाएपछि पहिले त ऊ रिसाए जस्तो गरेकी थिई। पछि बिस्तारै भौजीको कानमा भनिदिएकी थिई, 'मलाई मन्जुर छ।'

त्यसपछि यो अबधी मूलको नेपाली केटो अवधेश फेला परेको थियो उसका लागि। अवधेशको चिनाटिप्पन लगन र राशि सबै जुरेका थिए अनुपमासँग। जुराउनेले भनेको थियो, 'यिनको कोखबाट छोराको लस्कर लाग्नेछन्। यिनी सधँै दूधले नुहाउनेछिन्।' जुराउनेको कुरा सुनेकी भौजीले ननद अनुपमालाई जस्ताको तस्तै सुनाइदिँदा मनमनै ऊ मख्ख परेकी थिई। अवधेशको अनुहार अलिकति घोडेपाराको भए पनि जिउ खाइलाग्दो थियो। छोरीका लागि उसका बाबाले दहेजको थुप्रो लगाइदिएका थिए। ज्वाइँसाहबका लागि मारुती अल्टो, छोरीका लागि प्लेजर स्कुटी, स्टेट बैंक अफ इन्डियामा छोरीज्वाइँका लागि २५ लाख भारुको एकमुष्ट शैक्षिक खर्च खाता, सम्धीका लागि मागअनुसारको बेग्लै सम्पत्ति, सम्धाइनका लागि तनिष्कको हिरा सेट- लल्लनजीले कुनै कसर बाँकी राखेका थिएनन्। गुनासोका लागि कसैलाई कुनै ठाउँ दिएका थिएनन्।
यति हुँदाहुँदै पनि जन्ती नआउने भएपछि अनुपमा थला परी। अब फेरि कोसँगको अफेयरको शिकार बन्यो मेरो बिहे? अनुपमालाई आफ्नो प्लेफुल जीवनको पछितो भयो। एक समय त ऊ गति छाडेरै प्रेममा लागेकी थिई। कुशीनगरको रतन अग्रवालले रतिरागात्मक भावनाको प्रचण्ड वेगमा उसलाई दिएको प्रेमोपहारको विसर्जन गर्न उसलाई निकै कठिन परेको थियो। तै भौजाइले उसलाई आफ्नी ममेरी बहनीको घर लगेर जोगाएकी थिइन्। बस्तीको एउटा डाक्टरले पाँच हजार रुपैयाँको तगडा फिस लिएर अनुपमाको पेटबाट तीन महिनाको गर्भ गिराइदिएको थियो।

यसपटकको घटना त्यस्तो थिएन। अनुपमाका हुनेवाला ससुरालाई नेपाल सरकारको पुलिसले रासन ठेक्का र व्यक्ति अपहरणको दोहोरो मुद्दामा पक्राउ गरेको थियो। प्रस्तावित ससुरा त्यतिखेर आफ्ना पाहुना पासासँग अबधी भाषामा गुफ्तगु गर्दै थिए। देश-परदेशका मानिससँग चिनापर्ची गर्दा ससुरा आफूलाई कहलिएको राजनीतिज्ञ बताउँथे भने उनका निकट छिमेकीहरू उनलाई तस्करको दलाल र कहलिएको फटाहाका रूपमा चिन्थे। छरछिमेकीले जसरी चिने पनि उनकै घरमा लाग्थ्यो मानिसको ओइरो। कुरा २५ करोडबाट सुरु गर्थे। बार्गेनिङ चल्दै जाँदा २५ लाखमा मान्थे। केरादेखि कतारसम्मका व्यापारमा हात हालेका थिए। आफ्नो द्वारमा आश्रयका लागि आएका आशामुखीहरूलाई सुनाएर मोबाइलमा देशका मन्त्रीदेखि मन्त्रीका ढोकामा पालो बसेका सन्त्रीसम्म सबैलाई थर्काउँथे। दूरसञ्चारको नेटवर्कले उनको आवाज थर्काइएको व्यक्तिको कानमा कहिल्यै पर्न दिँदैनथ्यो। कति रमाइलो!

जन्ती नआउने दुःखद खबर सुनेपछि उता अनुपमाका बाबा लल्लन जग्गेमा डङ्ग्रङ्ङ पछारिए। यसरी पछारिएर उनले अलिकति आफ्नो अभिनय क्षमता देखाएका थिए भने अलिकति तोडै परेको थियो। प्रस्तावित सम्धीको बारेमा उनलाई धेरै कुरा थाहा थियो। त्यसैले उनी घबराएका थिएनन्। लल्लनजी एकैछिनमा जागा भए। त्यसपछि मोबाइल उचालेर प्रस्तावित सम्धीलाई आश्वासन दिए, 'बिलकुल नघबराउनुहोला। ममाथि एमएलएसँग कुरा गरेर ठ्याकठुक सबै कुरा मिलाइहाल्छु। अहिलेका लागि उतातिर तपार्इँ बिहे स्थगित गरिदिनोस्, यतातिर म स्थगित गरिदिन्छु। केटाले केटीलाई केटीले केटालाई मन मिलाएकै छन्...'

बाबाको आवाज कानमा परेपछि अनुपमाको मन चिसो भयो। उसले भौजीको कानमा बिस्तारै भनी, 'उनीसँग अहिलेदेखि बसेर पछि बिहे गरे पनि के हुन्छ र? बसेपछि त बिहे पक्कै हुन्छ नि!'
भौजीले अनुपमाको अनुहारमा हेरिन्। उनको घुम्टोबाहिर नयाँ जमानाको उज्यालो छरिएको थियो।

-नागरिक
Read more >>

आफ्नो वजन

एक युवतीले coin हालेर आफ्नो वजन तौलिन ५२ केजी
सेंडल खोलिन ५१ केजी

जेकेट खोलिन ५० केजी

फेरी ओढ्ने खोलिन ४९ केजी

तर coin सकियो ……

छेउमा माग्न बसेको भिखारीले भन्यो – “तिमी खोल्दै जाऊ ! coin म हाल्छु !”


श्रीमान काम बाट फर्किएर घरमा पुग्यो

श्रीमती : मैले आज नोकरनीलाई घरबाट निकाली दिए

श्रीमान : तर त्यो बिचरीलाई एक मौका त दिएको भए हुन्थियो

श्रीमती :उसलाई त जसले पनि मौका दिई हाल्छ तर म तिमीलाई फेरी मौका दिन चाहन्न
Read more >>

- जे. बी. शेर्पा

नमस्ते सर !
मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको अगाडी हुन्छ ! तरकारी लिएर नरे पुन: प्रकट हुँदै भन्न थाल्छ खानुस सर मेरो दिदीले पठाउनु भएको , चंचल , वालशुलभ नरे फेरी बाहिरिन्छ !

एकाएक दुवैजना ढल्किरहेको ओछ्यान छाडी ढिँडो नजिकै बस्न आई पुग्छन र रमाइलो सुरमा मुखामुख गर्न थाल्छन, पुर्वजानकारीविना आइ पुगेको त्यो ढिँडोले दुवै लाई अलमल्ल र चकित पारिरहेकोछ ! अनभिज्ञ र कौतुहलयुक्त ति दुईजना कस्ता देखिन्छन भने मानौ बाघको डमरुहरुले पहिलो पटक शिकारको अनुभव गरिरहेको होस् र शिकार संग नजानेर खेल्न खोजिरहेकोहोस ! कसको आग्रहमा आज यो ढिँडो यहाँ आई पुग्यो ? किन पठायो ? एक अर्कालाई प्रश्नोत्तर गरि रहन्छन अनि नयाँ ठाउँमा त्यसरी एक्कासि आई पुगेको ढिँडो र नरेको दिदी प्रति केहि शंकाको पातलो धुवाँ नउढेको पनि हैन तर त्यस्तो ठानीहाल्न कुनै उचित कारण चाहिन्थ्यो जुन थिएन ! उनुहरुमा छाएको एक प्रकारको कौतुहलता , उत्सुकता र चंचलपन दुवैको छटपटी र हाउ भाउ बाट प्रस्टै देखिन्छ ! प्रश्नहरु अनुत्तरित रहँदा रहँदै ढिँडोको आकार सानो र झन् सानो हुन थालीसकेको थियो ! राजधानी शहरमा जन्मेहुर्केको नेवारको छोरो श्यामले ढिँडो धेरै खान सकेन , किरण भने थाल्नै खाउँलाझैं गरि चरम स्वादमा ढिँडो निली रहेथ्यो ! निलिएका प्रत्येक ढिँडोका डल्लाहरु शतप्रतिशत गाउँको महक , स्वाद र ताजापनले भरिएको थियो , तर प्रत्येक ढिँडोको गाँस संगै वारम्बार उही अनुत्तरित प्रश्नहरु पटक पटक दोहोरीईरहेको थियो ! किरणले ढिँडोको मिठो स्वाद संगसंगै कताकता मनमा चिसो पसेको अनुभव पनि निलीरहेको थियो ! प्रशंगवस् उसले अस्ति भर्खरै गाउँलेहरु सित ढिँडो खान अति मनपर्छ भन्ने कुरो सुनाएको थियो ! झट्ट दिमागमा त्यहि कुरा नाच्नथाल्यो र त्यसले उसको मथिंगलमा झन्न झन्न करेन्ट हान्यो ! आजको यो तात्तातो स्वादिलो ढिँडो उनीहरुको अगाडी बिना पुर्वसूचना आइपुग्नु पक्कै पनि त्यसैको परिणाम हुनु पर्छ , तर यो कुरा उसले श्यामसंग खुलाउन चाहेन ! उता श्यामलाई भने कौतुहलता बढी रहेको भानहुन्छ , बाहिर आँगनमा नरे लाई बोलाउँछ र ढिँडो मात्र नभएर गाउँघरको खानाहरुजति सवै मनपर्ने , स्वादिलोर पोषिलो हुने बताउँदै उसको दिदीको वरिपरी कुरो पुरयाउन अझ अन्य कुराहरु कोट्याउन थाल्दछ र .....जवाफमा नरे भने बालशुलभ चंचल्तामा छोटो उत्तर हो र होइन , छ र छैन अनि खै थाहाछैन भन्ने शब्दहरु मात्र जवाफ दीईरहन्छ ....! बालसुलभ नरेको अनुहारमा निश्छलता र बोलीमा सत्यता भन्दा बाहेक केहि पाउँदैन श्यामले !
"नाम त सानुमायाँनै रहेछ नि !" सानुमायाँको विगत र वर्तमान वारे अर्को दिन श्यामले निकै जानकारी बटुलिसकेको हुन्छ र भित्र गढ़न लागेका आँखा र रुन्चे लाग्ने अनुहारमा विशेष चमक देखाउँदै एउटा नव प्रेमीको भावमा त्यस साँझ किरणलाई फुर्तिसाथ सुनाइरहेको हुन्छ मानौं उसले कुनै बाजी जितिरहेकोछ ! करिब ३५ वर्षे उमेर , मझौलो कदकाठीको श्याम यस गाउँमा संचालित एक सानो योजनाको निमित्त खटिएर आएको ओभरशियर हुन्छ भने त्यस योजनाको ठेकदार किरण हुन्छ ! करिव उस्तै कदकाठी उमेर र शहरिया र पढालेखा अनि एकै कामका लागि आएकाले हुनसक्छ एक दुई हफ्तामै दुवै घनिष्ठ साथी जस्तै हुन्छन ! दुवै गाउँकै एक घरमा बसेका हुन्छन ! कामका लागि बाहिरबाट ल्याएका कुल्लीहरू भने वरपरका घरमा बाँडिएर बसेकाहुन्छन ! सवैको कामगर्नुपर्ने साईट भने अलि तल चिसो र सिरेटो युक्त खोलामा हुन्छ ! ठाउँ , परिवेश , संस्कृति , मानिस सवै नयाँ छन् , दुवैमा उत्सुक्ताछ , लगावछ ! त्यस निरस ठाउँमा आजकाल निकै चहल पहल बढेको छ रौनकता छाएकोछ ! बर्सातको भेल आउनु अघिनै त्यो खोलाको काम सकी सक्नुपर्ने भएकोले कामको चहल पहल बढेकोछ , नत्र अधुरो काम र वरपरका सर-सामानहरु सवै बगाएर नामो निशानानै मेटाई दिन्छ !

अचेल केहिदिनयता किरण अलिक सम्हालिएको हुन्छ , विशेष गरि सानुमायाँ बाट ! नुहाई धुवाई इत्यादि गर्नु पर्दा धारा वरिपरी सानुमायाँको अनुपस्थिथि को अवस्थामा मात्र गर्न खोज्छ यात खोलामै त्यो काम भ्याएर आउँछ , तर सानुमायाँको मनमा उस्को व्यक्तित्व वारे नकारात्मक सोचाइ नरहोस भन्ने पनी चाही रहेको हुन्छ र ! यस विपरित ओभरशियर श्याम भने निकै छरितो फुर्तिलो र प्राय गित गुनगुनाई रहने गायकनै बनेकोछ र प्राय सानुमायाँको धारोमा आउने जाने समय लाई विशेष निगरानी गर्छ अनि आफ्नो धारो जाने समयलाई जुधाई दिन्छ ! यस विच किरण अनुभव गर्छ कि ठेकदार र ओभरशियर बिच अथवा भनौं एकै घरमा वस्नेहरु विच हुनु पर्ने विभिन्न विषय उपरका सामान्य र व्यावहारिक कुराकानीहरु भने कमहुन् थालेकोछ ! यस प्रति किरणको खासै दुखेसो र गुनासो र चासो छैन यद्धपी मनमा कतै एउटा अज्ञात भय र आशंकाले ठाउँ जमाउन थालिसकेको हुन्छ !

सुडौल,गोरो र सुन्दर रुपरंगकि धनी सानुमायाँ त्यस निरस उराठ प्रकृतीमाझ फुलझैं प्रतित हुन्छ , लाग्छ उ त्यहाँ नभएर अन्तै कतै सुन्दर स्वप्निल दुनियाँमा हुनुपर्ने हो ! ओभरशियर श्याम सानुमायाँको त्यस सुन्दरतामा यति विध्न मोहित छ कि हरेक साँझ उनकै वारेमा मात्र बिभिन्न कुराहरु गरिरहन्छ , सपना बुन्छ , टोलाएर बस्छ ! किरणको निमित्त त्यो कार्य अनैतिक हो , एउटा कुकर्महो र यस ठाउँमा एउटा जघन्य अपराध घट्न गइ रहेछ , किरणले यहि बुझिरहेकोछ , तर श्याम लाई सम्झाउन नसकिरहेको अवस्थामा लाग्छ त्यो पनि ढिलो भैसकेकोछ ! फेरी सानुमायाँ लाई पनित सम्झाई बुझाइ गर्नु पर्ने हुन्छ जसको लागि उ नायक बनेर श्याम लाई खलनायक बनाउनु पर्ने हुन्छ यात समय लाई दोष दिने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ , जो उ गर्न सक्दैन !

मायालु मन्दमुस्कान , अनुरोधयुक्त र समर्पित झैं लाग्ने सानुमायाँको हेराई आजकाल पहिले जस्तो छैन यद्धपि किरणको उनि प्रतिको अप्रकट स्रद्धा भने सधैं उस्तै रहीरहेकोछ , यस अर्थमा सानुमायाँ लाई श्यामले आफ्नो स्वार्थ अनुरुप पन्जामा पारिसकेको हुनसक्छ , जसलाई उसको पागलपन बाहेक कुनै प्रेमको नाम दिन सकिंदैन ! उसलाई जबर्जस्ति र करकाप गर्नलाई समेत उ गलत समय र गलत परिस्थितिको परिबन्दमा श्याम संगै बाँधीएकोछ ! श्याम विरुद्ध प्रकट हुने कुनैपनी असहमति र असहयोगको परिणाम कस्तो हुनसक्छ त्यो ठेकदारी पेशाको छोटो अनुभवले पनि उसलाई राम्ररी सिकाइसकेकोछ अझ त्यो पनी मायाँप्रेमको मामिला, तैपनि बेलाबखत आफुलाई एउटा राम्रो साथीको रुपमा उभ्याउँदै उसलाई सम्झाउने हिम्मत नगरेको भने हैन ! धेरै प्रयासको वाबजुद पनी अब उसलाई लाग्छकि यो सम्बन्ध झनै बढ्दै झाँगिदै गैरहेछ , रोक्न सकिंदैन ! सम्झंदै चिन्तित हुन्छ , कथंकदाचित यसले काम बिगारेहाल्यो भने त सवै चौपट हुन्छ , नत तोकिएको समयमै काम सकिन्छ नत उता श्यामको घरपरिवारमा शान्ती नै रहनेछ , अनि सानुमायाँले पाउने सम्भावित दुक्ख:को सुरुवात , त्यसले गाउँलेहरुसंगको सम्बन्धमा पर्न सक्ने असर र त्यसको परिणाम ! अरु भन्दा पनि उ अधुरो कामलाई वर्खाको भेलले सबै बगाउँदै भत्काउँदै लगेको , गाउँले सवै मिलेर थप समस्या खडा गरेको अनि आफु त्यहाँ बाट रातारात भाग्नु परेको जस्ता छोटाछोटा चिसा दुर्घटनाका छालहरु मनमस्तिस्कमा ठोक्कीई रहँदा कहिले काहीं कतै क्विक् स्याण्डमा फस्दै गईरहेको झैं अत्यासलाग्दो अनुभव गर्छ !

श्यामले नैतिकताको सिमा नाघी सकेकोछ ! कहाँ सम्म भने , "" अब अर्को हफ्ता देखि सानुमायाँलाई पनि एउटा देखाउनको लागि काम दिनु परयो किरणजी त्यसो भए पछी गाउँलेहरुले पनी शंका गर्दैनन् मलाई पनी सजिलो "" लाजै पचाएर ङयाच्च दाँत देखाउँदै श्यामको विनम्र आदेश आउँछ ! अब श्याम नियमित त्यस चिसो खोलाको काममा अन्य कुल्लीहरुकै समय तालिका अनुसार जाने आउने गर्छ र प्राय सानुमयाँकै अघि पछी उ मडारिईरहेको देखिन्छ , खानाखाने समयमा प्राय दुवै कतै हराई रहेका हुन्छन ! किरणलाई खोंच अनि बोट बुट्यान पछाडी सानुमायाँलाई नाना भाँती सपना देखाउंदै छिल्लिई रहेको श्यामको घिन लाग्दो अनुहारको कल्पना आउनु सामान्य दिनचर्या जस्तै बनी सकेकोछ , उसले चाहेर वा नचाहेर त्यो सम्बन्ध रोक्न सक्ने होइन , कहिले काहीं आफैं लाई लाचार र हिम्मत हरुवा अनुभव गर्छ ! हरेक हफ्ता मेशको सामानहरु मगाउने लिस्टमा अब दुईचार वटा सामान सानुमायाँको लागि पनि थपिन थालेकोछ ,नयाँ मोडेलको काँईयो ,ऐना , अत्तर , घडी , चप्पल , बुढी आमाको लागि चप्पल र विस्कुट !

धागोको डल्लो झैं गुजुल्टिएको परिस्थिति र समस्यामा केहि फेरबदल भै हाल्लाकी भन्ने आशमा किरणले एक साँझ फेरी कुरा कोट्याउने आँट गर्छ ;

-- अचेल निकै झ्याम्मिनु भएकोछ कस्तो हुँदैछ प्रगति श्याम सर ? श्यामलाई सानुमायाँवारे यसरिनै छिल्लिएको भावमा कुरा गरेको मन पर्छ !

-- केटि एकदम सहिछ किरणजी , मोहनिनै लगायो मलाईत , मत यसलाई कहाँ छाड्छुर !

-- अनि तपाईं दुईटा स्वास्नी संग जीवन विताउनु हुन्छ ? कसरि खुशी राख्न सक्नु हुन्छ दुवैलाई अनि तपाईं कसरि खुशी रहनु हुन्छ ?

--- घरको स्वास्नी लाईत कहाँ थाहा दिने होत ? यसलाई कोठा लिई दिन्छु बाहिरै राख्छु , मैले पाल्न नसक्ने हैन क्यारे ? पछी थाहा पाएपनि विस्तारै कुरा मिलि हाल्छ्नी आइमाई त हो ! मेरो खुशी त अब यहिहो !

-- त्यसरी राम्रो हुँदैन सर , तपाइँहरु तिनैजनाको जीवनमा कुनैपनि खुशी बाँकी रहनेछैन जसले नानीहरुको जीवनमा समेत पछी नराम्रो असर पर्ने निश्चित हुन्छ !

-- हैन मैले यो सित बिहे गरेर अर्को घरजम नगरे पनि यसलाई सहयोग गर्न त मिल्छ्नी ? अर्काले पेट बोकाएर छाडेको अनि समाजमा हेयको पात्र बनिसकेकी केटि लाई मैले यत्रो सहयोग गर्न खोज्नु त मेरो उदारपन हो अनि यिनीहरुको भाग्य हो !

-- मानवीय आधारमा सहयोग गर्न त मिल्छ सर किन नमिल्ने ? तर तपाइँ उ बाट मोहित पनि हुनुहुन्छ , लगेर संगै राख्छु पनि भन्नु हुन्छ अनि सहयोग गर्ने पनि भन्नु हुन्छ ?

-- हेर्नुस ! बरु आफ्नो काम राम्ररी र बेलैमा सकाउने पट्टि लाग्नुस् , सानु मायाँ को चिन्ता नलिनुस बरु मलाई सल्लाह र सहयोग गर्नुस केगर्ने कसो गर्ने भनेर !

-- हैन सर गाउले हरुले यो सम्बन्ध नरुचाएको बुझी सकेको छु मैले , यो अवस्थामा कित तपाइले उसलाई बिहेनै गर्छु भनेर भन्न सक्नु पर्छ र उनीहरुलाई मनाई स्थानीय रित पुर्याई बिहे गरि लैजानु पर्छ , यदि मानवीय सहयोग मात्रै गर्नेहो भने लुकीछिपी बोट बुट्यान पछाडी दिन काटेको कसले निको मान्छ ? तपाइको चाहना त पुराहोला तर मत यहाँ बाट उम्किन पाउँदिन ! किरण आफ्नो जटिल अवस्थालाई विवश र निर्दोष कैदीले झैं वयान गर्छ अस्ति तपाईं काठमाडौँ जानु भएको बेला राती एकहुल गाउँले ठिटा हरु घोचा र भाटा लिएर आएका थिए मातेको झोंकमा , मलाई समेत एकैघानमा मुछेका छन् यिनीहरुले ! सरकारी कर्मचारी लाई कुटपिट गर्यौ भने तिमीहरुको गाउँमा कुनै पनि विकाशको योजना पनि आउँदैन , बेरोजगारी झनै थपिनेछ अनि कुटपिट र धाक धम्कि गर्ने लाई पुलिसले छाड्ने पनि छैन , म सवै मिलाउँछु , सम्झाउँछु किन वित्थामा कुरो नबुझी झगडा गर्ने भनि आश्वासन , डर र मायाँ देखाउँदै बल्लबल्ल फर्काएँ ! त्यस पछी भोलि पल्ट गा.वि.स. अध्यक्ष ले पनि धेरै कुरा सम्झाए मलाई ! पहिलो योजनामा आएको मान्छेले फोस्रा मायाँ र सपनाको महल बनाएर सानुमायाँको निश्छल प्रेममा खेलबाड गर्दै उसलाई बदनाम र दुखी:भएर बाँच्न छाडीदिएछ , अब पनि फेरी त्यस्तै कथा दोहोरिनेछ , यी शहरियाहरु सवै त्यस्तै हुन भनेर यिनीहरुले सोचीसकेका छन् , जस्तै वदनाम भएपनि उ समाजकै छोरीचेलीहो त्यसैले रिस सवैलाई उठ्छ , बेलैमा होस् पुर्याउनुसहै तपाईंहरु भनेका थिए !

.. .. होर ? यिनीहरुले मलाई खोज्न आए रे ? धत्तेरी.. नडराउनुस त्यस्तो नराम्रो केहि पनि हुँदैन .... तपाईको काममा पनि बाधा पर्दैन म सवै मिलाउँछु !

त्यो गन्थन लम्बिएर आधिरात कटी सकेको थियो , बल्ल उता श्याम घुर्न थाल्यो निस्फिक्री ! चकमन्न रात , अब किरणको कानमा तल बगिरहेको खोलाको एकोहोरो स्वाँ स्वाँ र श्यामको घुर्र..... घुर्र... झनै नराम्रो लागि रहेको थियो , उ अझ निदाउन सकिरहेको छैन !

करिव बिस पच्चिसवटा छरिएररहेका घरहरुको एउटा सानो गाउँ हो यो , जसलाई एउटा अग्लो थुम्कोले लुकाएर , छेकेर राखेको झैं देखिन्छ वारि पट्टि बाट हेर्दा ! हुनपनि यदाकदा बाहेक प्राय ढिलो र सुस्त छ यस गाउँको समयको रफ्तार ! वेरोजगारी , गरिबी र वेचैनी संगसंगै अन्य धेरै समस्या हरुले छोपेर राखेको झैं देखिन्छ यस गाउँ लाई ! गाउँ नजिकैको डाँडा बाट देखिन्छ अलिक तल बाट बगिरहेको ठाडो खोला एकनाशे सुसाइमा , त्यसमाथि झनै विरक्तता थपिदिन्छ सल्लाघारीको सुंइँ सुंइँ सुसाइले मानौं असिम विरहमा उ रोइरहेछ ! खोला पारि आकाश छोला झैं चुलिएर गएको खैरो फुस्रो जीवन विहिन लाग्ने विशाल ढुंगे पहरा उत्तरदक्षिण हुँदै फैलिएकोछ ! एउटा सामान्य र औशत खुश मानिसलाई पनि अकारण विचलित तुल्याउछकि भन्ने भन पर्दछ यहाँको यो वातावरणले ! किरण यहीँ पाखामा बसिरहेछ आज, निकैवेर सम्म एक्लै , प्रकृतिसंग एकछिन एकाकार भएर रमाउने र तनाव कम गराउने उसको धेय्य फेरी विथोलिएकोछ् ! तल गाउँको सानुमायाँ को घर आँगनतिर एकोहोरो हेरिरहेको हुन्छ उ माथि बाट , आँगनमा उसकी बुढी आमै मात्र देख्छ , अनि कुदिरहेका कुखुरा र कुखुराका चल्लाहरु , कहाँ के गरिरहेको होला सानुमायाँ यतिखेर ! उ काममा नदेखिएको एक हप्ता बढिनै भैसकेकोछ , सानुमायाँकि बुढी आमा भन्छिन "" ओभरशियर साबले त्यसलाई तालिम दिन भनेर पोखरातिरलगेर राखेकोछ बाबु "" ! त्यस पछी सोधेको पनि छैन कसैलाई यसबारे ! पहिले भए अघि सरेर निहुँ खोज्नआउने केटाहरु पनि आफ्नै तालमा मस्त देखिन्छन , तर श्यामको क्रियाकलाप र भावभंगीमाहरुभने कताकता अस्वाभाविक , रहश्यात्मक र कुटिल प्रतित हुन्छ ! पहिले जस्तो मिलनसार र खुलेर बोल्ने रहेन उ , भित्र गढ़न लागेका आँखा , निरस र रुन्चे लाग्ने अनुहार संग अब बल्ल उसको स्वभाव मेल खाएको अनुमान गर्छ उ ! काम करिब सकिनै सकेकोले उ छिटोछिटो आफ्नो कागजी कामहरु मिलाएर जाने हतारोमा छ , कुनै कुनै सक्न बाँकि काम पनी उसले सकिसकेको भनेर चढाई सकेकोछ !

केहिदिन अघिसम्म निरन्तर हल्लाखल्ला ले व्यस्त रहेको त्यो खोला हिजो आज बाट सुन्सानछ र नजाने कहिले सम्म यस्तै रहनेहो ? अनि यो गाउँ ? जेठको मध्यान्ह , आज दिन सफा छ , चिसो पानी संगैसंगै चिसो सिरेटो बग्ने सानो खोलाको धेरै माथि सिरान तिर ठुलो ढुंगा माथि बसेर किरण एक्लै भ्याएसम्म तलतिर हेरिरहेको हुन्छ एकोहोरो ! तैयार भएको विशेष खाले नयाँ बाँधबाट चम्किने पानी रमाइलो गरि चिप्लेर बगी रहेकोछ ! नजिकै सानो छाँगो दहमा निरन्तर खसी रहेको र फिँझहरु , फोकाहरु निस्कंदै फैलिँदै कुनै कुनै फुट्दै बग्दै तल खस्दै जाने र तलबाट फेरी बगेर जाने अनि फेरी खस्ने क्रम अनवरत चलेको उ हेरीरहेछ ! उसले देख्छ खोलाको पानीको सतह दिनदिनै बढीरहेकोछ , धन्न वर्खा लाग्नु अगावै काम सकियो जसोतसो , एउटा लामो सास फेर्दै उ निश्चिन्त हुनखोज्छ , केहि खुशि साथ् हलुका उ अनुभव गर्छ तर सानुमायाँको अवस्था वारे फेरी अनाहकमा चिन्तित अनुभव गर्छ , पानीमा उ सानुमायाँको उही निश्चल निर्दोष मुस्कान युक्त छायाँ देख्छ ! त्यो श्यामले उसलाई पोखरा तिर लगेर राखेकोछु र छिटै कुनै सानोतिनो तालिम तिर लगाइदिन्छु भेनेकोत थियो तर त्यो शत्प्रतिशत भरपर्दो छैन ! उ कहाँछ के गरि रहेछ ? श्यामले उनलाई कतिन्जेल साथ देला ? अनि श्यामको सुन्दर बनिबनाउ घर ? सुन्दर श्रीमती र उसलाई दिएको वाचाहरुको के होला ? हुर्कन लागेका छोराछोरीहरुको सुन्दर भविष्य र उनीहरुले गुमाइरहेको बाउको न्यानो मायाँ अहिले कुन रुपमा होला ? मान्छे,सृष्टिको सुन्दर रचना तर किन सुन्दर छैन उ ? यी सवै प्रश्नहरुको उत्तर बगिरहेको पानीको फोकाहरु संगै फुट्दै खसेर झन्झन् तलतिर गैरहेकोछ भने सानुमायाँको पानीछायाँलाई पछाडी बाट एउटा पुरुष छायाँले कुटिलमुस्कानमा अंकमाल गर्दै कसीरहेछ ! किरण जुरुक्क उठेर लगातार ढुंगाहरु टिप्दै त्यस पानीछायाँ तिर जोडजोडले फालेर त्यस दृश्यलाई बिथोल्न र मेटाउन खोज्छ तर ......उस्ले त्यस पानीछायाँलाई समेत बिथोल्न सकिरहेको हुँदैन !

स्रोत : समकालीन साहित्य
Read more >>

रश्मी

Posted by eKabita | 10:10 PM | | 0 comments »

- खगेन्द्र पराजुली 'शून्य'
सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। किरण देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ। ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए। त्यो एकान्त, त्यो मनोरम प्राकृतिक बागमा ऊ घरिघरि गुन्गुनाउछ अन्तरह्दयको गीत, यसरी―
यस्तो पनि हुँदोरै'छ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरें मैंले.......

दिन उही हो, स्थान उही हो, आजभन्दा एक बर्षअघि, प्रेम दिवसको दिन रश्मीसगँ घण्टौं अङ्गालोमा बाधिएर जीवन र जगतलाई भूलेको क्षण अनि जिन्दगीमा कहिल्यै नछुटिने कसम खाएको क्षण अहिलेझैं लाग्छ उसलाई। उफ्...! कति पीरो अतीत अनि पीरो हुँदा–हुँदै पनि कति मीठो सम्झना! यो दुखाइ जीवनभर कहिल्यै गुमाउन चाहँदैन ऊ, दुखिरहनुपर्छ मुटुभित्र यो मीठो दुखाइ, पोलिरहनुपर्छ सम्झनाले त्यो कोमल मुटु उसको छातीभित्र। सम्झँदा मात्रै पनि रश्मीको यादले नयनपलक भिजेर आउँछन्, हल्का पवनको सर्सराहटले उनको लामो कपाल उसको गालाभरि सर्सराएको यादले अनायासै ऊ रित्तो गालामा हात पुर्‍याउँछ। समयले आज उसलाई एक्लो बनाएको छ रश्मीको अनुपस्थितिमा। पोहोर साल प्रेम दिवसको दिन उनले उपहारस्वरुप दिएको एउटा डायरी, त्यसमा टाँसिएको उनको हँसिलो प्रतिविम्ब अनि रातो गुलाफ, त्योभन्दा बढी मुटुभरि यादैयाद मात्र उसको साथमा छाडिदिएको छ समयले, तर खै रश्मी? रश्मीलाई समयले कहाँ पुर्‍यायो कहाँ! हत्केलाले भिजेका परेलीहरु पुछेर ऊ लेख्न थाल्छ त्यही डायरीका पानामा―

ह्दयकेन्द्रकी 'रश्मी',
असीम–असीम सम्झना अनि ह्दयभरिको माया स्वीकार है जहाँ भए पनि, यो अभागीको। रश्मी, 'किरण र रश्मीलाई संसारको कुनै पनि शक्तिले अलग गर्न सक्दैन' भन्थ्यौ हैन तिमी? तर गुलाफझैं कोमल ह्दय कसरी पत्थरझैं कठोर भयो तिम्रो? हँ कसरी? हुन त मभन्दा सुन्दर, धनी अनि धरै माया गर्ने मान्छे पायौ होला सायद, त्यसैले त मलाई अनि ती निर्दोष अतितका पलहरुलाई चटक्क भूल्न सक्यौ। तर याद राख रश्मी मैंलेजति माया गर्ने र गरिरहने मान्छे विश्वमा तिमीले कहिं पाउन सक्दिनौ। हो, सम्पति पायौ होला, चिप्ले कारको सफर पायौ होला तर रश्मी, सम्पति त केवल यो झूठो संसारको भ्रम हो। तिम्रो जस्तो निर्दयी मुटुले यस्तो कुरा कसरी पो बुझ्न सकोस् र! जे होस्, तिमी जहाँसुकै रहे पनि खुशी रहू म त यही चाहन्छु। रश्मी, आज मलाई उही पुरानो दिनले चिमोटेको छ नमीठो गरी। आज 'प्रेम दिवस', यतिबेला तिमी कसैको अङ्गालोभित्र हराइरहेकी हौली, म रोइरहेको छु यहाँ एक्लै। झनो आशा मिलनको बोकी यो देउराली कुर्न छाडेकै छैन, मबाट भर्नुपर्ने तिम्रो स्वार्थको भाँडो भरिइसक्यो होला त्यसैले त मलाई सम्झने कोशिश गरिनौ। देउराली यही हो, जहाँ तिमीले मेरो छातीमा खाली सिउँदोसहितको टाउको अड्याएर धेरैबेर रोएको, युगौं नभूल्ने बाचा गरेको, खै सानु, किन यति चाँडै भूल्यौ ती दिनहरु! पोहोर साल यसै दिन हामी यही देउरालीको चौतारीको यही एकान्तमा घण्टौं अङ्गालोमा बाँधिएर चीरकालीन मिलनका कुराहरु गरेथ्यौं, तिमी मदेखि र म तिमीदेखि टाढा हुनुपर्‍यो भने कसरी सहने त्यो क्षण भन्ने कुराले नमीठो गरी पिरोल्थ्यो। तिमी रुन थाल्थ्यौ, म पनि कहाँ आँशु थाम्न सक्थें र! तिम्रो स्पर्श यो कपालभरि अझै अनुभव भइरहेछ। तिम्रा नौनीझैं नरम अधरहरु यी अभागी ओठहरुले खै कसरी भूल्न सक्लान् र! रश्मी, मलाई त मीठो लागेको थियो तिम्रो आगमन मेरो जीवनमा। तर...., तर तिमी त मायाको बगैंचामा फुलेका फूलहरुभित्र टम्म भरिएको गुलियो रस चाख्दै उड्ने भमरा रहिछौ। मभित्र रहेको मायाको घडा चूसेर तिमी खै कता गयौ कता, म यहाँ भ्रमरचुम्बनविहीन फूल बनी भमरा तिमीलाई अझै पर्खिरहेको छु मीठो चुम्बनको आशा बोकेर। मलाई त सधैं ढकमक्क फुलिरहन मन लाग्छ। तर तिमी..., तिमी त फक्रिएको फूल विस्वासघातको रापले ओइलाएको अनि सुकेर खङ्रङ्ङ्ग भएको हेर्न चाहँदिरहिछौ। आखिर के पायौ? हँ के? त्यही क्षणिक मोह? गुलियो रस चुसुञ्जेल चुम्यौ सुकोमल फूल अनि अघाएपछि चटक्कै विर्सेर गयौ, तिमी अघाएर गयौ, तर यो नसोच्नू कहिल्यै तिमीले मलाई नै रित्याएर गयौ। मसगँ तिमीले अहिले पाएको जस्तो हबेली र चिप्ले कार त छैनन्, जुन रित्तिन कतिबेर छैन, तर मसगँ कहिल्यै नरित्तिने मायाको महासागर छ। त्यसैले त मुटुमा विस्वासघातको भाला रोपी जाने तिमीलाई अझै पनि माया गरिरहेको छु अनि गरी नै रहनेछु मृत्युपर्यन्तसम्म पनि।
हरेक पूर्णिमा शीतल जून लिएर आउँथ्यो, हरेक विहानी मीठो धून लिएर आउँथ्यो तर आजभोलि पूर्णिमा रापिलो ताप लिएर आउँछ, विहानी विरह र आन्तरिक चित्कार लिएर आउँछ। खै रश्मी, कल्पना नै गर्न सक्तिन म समय यति निष्ठूरी हुन्छ भनेर, अँह सोच्नै सक्तिन म समयको धूलोले मप्रतिको तिम्रो मीठो मायालाई यति चाँडै छोपिदिन्छ भनेर। बरु ज्यान मार्ने सुनामी सहन्थें, तर आत्मा मार्ने यो पीरो वियोग सहन सक्तिन, भन सानु, अब के गरुँ म? हो, रुढिबादी समाजले टुसाउँदै गरेको मायाको कलिलो विरुवा निमिट्यान्न पार्न खोजेको पनि हुनसक्छ। तर फुच्चु, 'संसार बदल्न पहिले आफैं बदलिनु पर्छ' भन्ने महान् वाणी उत्कर्ष गर्ने तिम्रो कोमल तर विद्रोही मन किन उही कुण्ठित समाजको बन्धनभित्र जकडिन रमायो? आखिर किन? स्वीकार छ मलाई पनि तिम्रो स्वीकारोक्ति। तर रश्मी, विन्ति छ, मलाई जस्तै उसलाई पनि मूल्यहीन खोस्टा बनाएर रछ्यानमा नफाल्नू ल, तिमी त आस्तिक मान्छे, ठूलो पाप लाग्नेछ त्यसो गर्‍यौ भने फेरि। अरु त के भनूँ, उसले तिमीलाई चाहेजति माया दिन सकेन भने म त हरहमेशा सबैभन्दा बढी माया दिन्छु तिमीलाई। चाहन्छ्यौ भने जुनीभरिलाई स्वागत छ मेरो जीवनमा।
उही तिमीलाई जुनी–जुनीसम्म भूल्न नसक्ने अभागी किरण।
भावनामा बगिरहेको किरण झस्किन्छ, शून्यताको प्रतिक्षा उसको, आकाशसरी शून्य–शून्य छ। कसिलो गाँठो गलाभित्र बोकी आँशु पुछेर लामो सास फेर्छ अनि उभिएर पल्लो क्षितिज नियाल्छ केही बेर। हल्का हावाले वरपिपलका पातहरु फर्फराइरहेका थिए,सल्लाघारी विरहलाग्दो सुसेली गाइरहेको थियो

स्रोत : समकालीन साहित्य
Read more >>